साहित्यकार निराकारको कृति बिमोचनमा फरक अभ्यासः अध्यक्ष न प्रमुख अतिथि


भैरहवा– मञ्चमा न प्रमुख अतिथि न समारोहका अध्यक्ष नै । न कुर्ची तथा सोफामा बसेका अन्य बिशिष्ट व्यक्तिहरुको लहर । मञ्चमा देखा पर्थे, मात्र एकजना कार्यक्रम संचालक तथा उद्घोषक । सवै आमन्त्रित समान । मञ्च तलको दर्शक दीर्घामा ।
धेरैले आफ्नो जन्मदिन केक काटेर तामझामकासाथ मनाउने गर्छन् । धेरैले आफ्नो कृतिको लोकार्पण तथा विमोचनमा प्रमुख अतिथिका लागि बिशिष्ट व्यक्तिको खोजी गर्छन् ।
भैरहवाका बरिष्ठ साहित्यकार तथा आख्यानकार बनमाली निराकारले भने आफ्नो जन्मदिन फरक ढंगबाट मनाए । शुक्रवार साँझ उनले आफ्नो ७५ औं जन्मोत्सव आफूले सिर्जना गरेको साहित्यिक कृति बिमोचन तथा लोकार्पण गरेर मनाए ।
आफ्नो जन्मोत्सवमा न उनले केक काटे, नत आफ्नो साहित्यिक कृतिको बिमोचनका लागि कुनै बिशिष्ट व्यक्तिलाई नै प्रमुख अतिथि बनाए । तथापी उनको जन्मोत्सव समारोहमा पुग्ने आमन्त्रितमा बरिष्ठ साहित्यकार, प्राज्ञ, समाजसेवी लगायतको बाक्लो उपस्थिति थियो ।
उनले आफ्नो ७५औं जन्मोत्सव नयाँ साहित्यिक कृति ‘नयाँ सालिकको जन्म’ नामक लघु कथा संग्रह र ‘मान्छेका रंगहरु’ नामक कविता संग्रहको सानो उमेरका नातिनी सुरभि बिष्ट, आकृति बिष्ट र नाती कृतिक आचार्यद्वारा बिमोचन गराए ।

‘साहित्यमा नयाँ समाजको पुस्तालाई अगाडि बढाउने सोंचले मेरो साहित्यिक कृतिको बिमोचनमा अन्य बिशिष्ट व्यक्तिलाई प्रमुख अतिथि नबनाएर ससाना नातिनी र नातीबाट गराएँ’, निराकारले भने, ‘मेरो साहित्यक कर्मसँग परिवारलाई पनि जोडिदिउ भन्ने उद्देश्य हो ।’
उनका अनुसार, साहित्यिक क्षेत्र तथा बिधामा समाजका नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी छ । ३२ वटा लघु कथा रहेको नयाँ सालिकको जन्ममा अहिले राजनीतिक बिचलन र समाजप्रतिको यथार्थतालाई उनले उजागर गरेका छन् । साहित्यकार डा.मुरारी पराजुली र रामचन्द्र श्रेष्ठले उनको दुवै कृतिको समिक्षा गरेका थिए । प्राज्ञ बुँद रानाले अहिलेको राजनीतिक बिचलनप्रति साहित्यको माध्यमबाट अझ सशक्त रुपमा सहित्यकार प्रतिपक्षको रुपमा उभिएर उजागर गर्न जरुरी भएको बताए ।
साहित्यकार रुद्र ज्ञवालीले संचालन गरेको उक्त समारोहमा बरिष्ठ साहित्यकार बिजय गोबिन्द श्रेष्ठ, भैरहवा मर्निङवाक समूहका राजु नारायण श्रेष्ठ, साहित्यकार दुर्गा पौडेल, चिकित्सक गोबिन्द बल्लभ भट्ट, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना लगायतले आआफ्नो धारणासहित शुभकामना दिएका थिए ।









प्रतिकृया दिनुहोस्