सरकारी सेवाप्रति आकर्षित गर्न सिद्धार्थनगरमा निःशुल्क लोकसेवा कक्षा


भैरहवा– निजामती सेवा प्रवेशका लागि लोकसेवा परीक्षा अनिवार्य छ । यसैले सेवा प्रवेश गर्न चाहनेहरुले हजारौं खर्चेर कक्षा लिने गर्छन् । पछिल्लोपटक आफ्ना स्थानीय तहमा रहेका इच्छुक युवायुवतीलाई पालिकाहरुले लोकसेवाका कक्षाहरु संचालन गरिरहेका छन् । यसले सरकारी सेवा प्रवेश गरेर राष्ट्रसेवक बन्नेलाई सहजता तुल्याइरहेको छ ।
यहाँको सिद्धार्थनगर नगरपालिकाले पनि अहिले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको छ । यसले नगरभित्र रहेका युवावर्गलाई सहजता ल्याएको छ । अर्कातर्फ पछिल्लो समय सरकारी सेवामा आकर्षण घट्दो अवस्थामा रहेको हुँदा नगरका युवालाई लक्षित गरी सरकारी सेवामा आकर्षण र मानव संशाधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको जनाएको छ ।
कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परीक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए । उनका अनुसार फागुन १ गतेदेखि सुरु कक्षा चैत ३० गतेसम्मसंचालन हुनेछ । नासु पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको उनले बताए ।
दुई महिनासम्म संचालन हुने तयारी कक्षाका लागि जिल्लाभित्रका सरकारी निकायमा कार्यरत कर्मचारी प्रशिक्षक मार्फत कक्षा संचालन गरिएको नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । ‘शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरवासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको छ’, नगर उपप्रमुख उमा अधिकारीले भनिन् ।
सिद्धार्थनगर नगरपालिकाले जनमुखीहरु कार्यहरु गर्दै आएको नगर प्रमुख इश्तियाक अहमद खाँले जनाए । ‘भौतिक पूर्वाधारको विकाससँगसँगै मानव संशाधनको विकास पनि अपरिहार्य छ’, खाँले भने, ‘गत वर्ष संचालन गरिएको तयारी कक्षाका लागि नगरवासीको आर्कषण देखिएपछि यस वर्ष पनि कक्षा संचालन गरेका हौँ ।’ गत वर्ष पनि निःशुल्क लोकसेवा तयारी कक्षाका लागि मागभन्दा बढी आवेदन परेपछि चालु आवमा विगतको वर्षको मागलाई मध्यनजर गर्दै खरिदार पदको निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरिएको उनले बताए । पछिल्लो समय युवापुस्तामा विदेश जाने मोह बढिरहेको छ । यस्ता निःशुल्क कक्षाले त्यस्ता युवालाई सरकारी सेवातर्फ आकर्षित गर्ने विश्वास गरिएको छ ।








प्रतिकृया दिनुहोस्