June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

आगे यहाँको मर्जी !

एउटा युवा
रोजीरोटीका लागि
केही समय
यो देश छोड्न चाहन्थ्यो
आफ्नै पाखुरीको बलबुतामा
दश नंग्रा खियाएर
आफू हुर्केको झुपडीमा लागेको
गरिबीको जालो तोड्न चाहन्थ्यो ।

Advertisement

आमाबुबाको मुहारमा
थोरै भए पनि
खुसी भर्न चाहन्थ्यो
परिवारका कठ्यांग्रिएका सपनाहरूमा
आशाका न्यानो किरण छर्न चाहन्थ्यो
साथीभाइ, इष्टमित्रहरूका
आशा, अपेक्षाहरूमा
समृद्धिको दरिलो साथ भर्न चाहन्थ्यो
यो देशमा आफ्नो भविष्य खोज्दै
अन्योलताको कालो बादलभित्र
अन्धकारमा रुमल्लिएका युवाहरूका लागि
चाँदीको घेरा बन्न चाहन्थ्यो ।

Advertisement

आफ्नो मातृभूमिलाई
आफ्नै मिहिनेत र पसिनाले
सिञ्चित गर्न नपाए पनि
पराया मुलुकमा कष्ट सहेरै किन नहोस्,
प्राणभन्दा प्यारो देशलाई
समृद्ध नेपाल बनाउन चाहन्थ्यो
आफ्नो बलबुताले भ्याएसम्म
सुखी नेपाली बन्न, बनाउन चाहन्थ्यो ।

सायद एउटा युवाले राखेको
यही सदिच्छा
तपाईंका लागि
तपाईं र तपाईंले बसाएको
थितिविरुद्धको
जघन्य कसुर बन्यो
त्यही कसुरबापत
संविधानले पूर्ण रूपमा निषेध गरेको
मृत्युदण्डको सजाय
अघोषित रूपमा
बिनाकसुर भोग्दै
एउटा अमूल्य रत्न
यही माटोमा
गर्ल्याम्म ढल्यो
कहिल्यै नउठ्ने गरी, 
फेरि आमाको काखमा 
कहिल्यै नपुग्ने गरी
सरकार, आगे यहाँको मर्जी ! -baahrakhari