June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

काठमाडौं ट्रान्जिट बनाएर गौतमबुद्ध विमानस्थलबाट दिल्ली र हङकङ उडान सुरु

भैरहवा– बाह्र हप्तादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक उडान भर्दै आएको छ । तर, यात्रु छैनन् । हवाई यात्रु अभावबीच साप्ताहिक उडान गरिरहेको एयरलाइन्सले मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको दिल्ली र हङकङ पनि उडान सुरु गरेको छ ।

Advertisement

यी दुई ठाउँमा उडान गर्दा नेपाल बायुसेवाले नयाँ जहाज थपेको भने होइन् । मलेशियाबाट आउने जहाजमा यात्रु राखेर काठमाडौं लैजाने छ । त्यसपछि नेपाल एयरलाइन्सबाटै हवाई यात्रु हङकङ र दिल्ली जान पाउने छन् । मंगलबार पहिलो दिन भएकाले यी गन्तव्यमा जाने एउटा पनि यात्रु भएनन् ।

Advertisement

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले छोटो समय भएकाले यात्रु नभएको बताए । मंगलबार बिहान ९ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्स दिल्ली र हङकङका यात्रुविबै फर्किएको छ । काठमाडौं ट्रान्जिट हुँदा यात्रुलाई भने सास्ती हुने चिन्ता छ ।

विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमको जहाजमार्फत दिल्ली र हङकङ जाने यात्रुले काठमाडौं गएर केही घण्टा पर्खिइर वायुसेवाकै जहाजमार्फत् गन्तव्यमा जानुपर्ने छ । हङकङका लागि करिब २ घण्टा र दिल्लीका लागि करिब ३ घण्टा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिनु पर्ने छ । यो प्रक्रिया झन्झट भएको व्यवसायी बताउँछन् ।

काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा जाने यात्रुका लागि लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । तर, समयावधि नहुँदा यात्रु नै भएनन् । मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेको निगमले मागको आधारमा उडानको संख्या थप्दै लगिने जनाएको छ । आज ढिलो भए पनि भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्नेछन् ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको छ । तर, निजी क्षेत्र र यात्रुमा त्यति उत्साह भने देखिँदैन । २०७९ जेठ २ गते अन्तर्राष्ट्रिय उडान शुभारम्भ भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडान नभएको भन्दै निजी क्षेत्रले गुनासो गर्दै आएको छ । सुरुमै जजिरा एयरले सातामा तीन उडान थाले पनि नियमित हुन सकेको छैन । अहिले जजिराले सबै उडान रोकेको छ ।

बीचमा केही समय हिमालय एयरलाइन्सले पनि उडान गरेको थियो । उसले पनि केही समयमै भैरहवाबाट गर्दै आएको उडान रोक्यो भने अन्य विमान कम्पनीले पनि सेवा सुरु गरेका छैनन् । अहिले सातामा एक उडान काठमाडौं–मलेशिया–भैरहवा–काठमाडौं हुँदै आएको छ । पर्यटकलाई लक्षित गरेर बनाइएको यो विमानस्थलबाट अहिलेसम्म पर्यटक नै आएका छैनन् । यसले निरासा छाएको छ । निजी क्षेत्रले भने दैनिक बौद्धिष्ट मुलुक र दिल्ली उडान माग गर्दै आएका छन् ।