सीमा सुरक्षा डण्डाद्वारा पाँच महिनामा ४ करोड बढीको अवैध सामान बरामद


भैरहवा– सशस्त्र प्रहरी बल नेपाल, (प्रस्तावित सीमा सुरक्षा गुल्म) डण्डा, रुपन्देहीले ‘इमान्दार सशस्त्र प्रहरी सेवा तथा तस्करी नियन्त्रण अभियान’ संचालन गरेसँगै बिगत पाँच महिनामा ४ करोड १ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गर्न सफल भएको छ ।
सशस्त्र प्रहरीको सेवा प्रभावकारी तथा जनमुखी बनाउन र तस्करी नियन्त्रण गर्न गुल्मले ०७९ चैत १३ देखि उक्त अभियान संचालन गरेको थियो । गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अरुण शर्माले बरामद गरिएका सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको र यस अवधिमा २५ जना पेशेवर तस्कर कारवाहीमा परेको बताए ।
उनका अनुसार, बरामद हुने मुख्य वस्तुमा नेपालबाट भारततर्फ लैजाँदै गरिएको सुन, इलेक्ट्रोनिक सिगरेट र भारतबाट भन्सार छलेर नेपाल ल्याइएको लत्ताकपडा, तयारी पोशाक, हार्डवेयरका सामान, चिनी, मोवाइलका पाटर््स छन् । जसमध्ये, सुनको मूल्य १ करोड ८० लाख रुपैयाँ र १ हजार ५ सय थान इलेक्ट्रोनिक सिगरेटको ८० लाख रुपैयाँ मूल्य छ ।
ती सामान ढुवानीमा प्रयोग गरिएका ९ वटा मोटरसाइकल, एउटा स्कुटर, ८ वटा साइकल, २ ओटा अटोरिक्सा, एउटा बस र एउटा ट्रक पनि नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाइएको छ । ‘बरामद गरिएका अवैध सामानसँगै यस अवधिमा २५ जना पेशेवर तस्करलाई पनि नियन्त्रणमा लिइ भन्सार कार्यालय मार्फत् कारवाही गरिएको छ’, डीएसपी शर्माले भने, ‘कसुर र बरामद सामानको आधारमा भैरहवा भन्सार कार्यालयले उनीहरुबाट धरौटी रकम अन्तर्गत ३५ लाख रुपैयाँ राजश्व असुल गरेको छ ।’
रुपन्देहीको धकधई, सेमरपानी, डण्डा, केवटलिया र लुम्बिनीको कालिदह नाकाबाट बढी तस्करी हुने गरेको पाइएको छ । २ जना तस्कर बिरुद्ध भैरहवा भन्सार कार्यालय मार्फत् वारेन्ट जारी गरिएको छ ।








प्रतिकृया दिनुहोस्