१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रादेशिक मिडिया सम्मेलन


बुटवल– प्रादेशिक मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे बसन्तपुर घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा समानुपातिक वितरण प्रणालीका आधारमा विज्ञापनहरु सिधै सञ्चार गृहलाई दिने व्यवस्था मिलाउन माग गरिएको छ । यसले संचारसंस्था बलियो हुने ठम्याई छ ।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा दुई दिनसम्म सम्मेलन चलेको थियो । भदौ १ र २ गते बुटवलमा प्रादेशिक मिडिया सम्मेलन भएको हो । दुई दिनसम्म चलेको सम्मेलनको घोषणापत्र भने पाल्पाको बसन्तपुर डाँडामा छलफल पछि सार्वजनिक गरिएको हो ।
सम्मेलनले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सबलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरेको छ । यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
सरकारले लिँदै आएको विद्युतीय सञ्चार माध्यमको नवीकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महसुलमा छुटको व्यवस्था अविलम्व सुरु गर्न माग गरिएको छ ।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले लुम्बिनी प्रदेशभित्रका छापा, विद्युतीय र अनलाइन गरी झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागिता सम्मेलन भएको र लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताविना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन माग गरिएको जानकारी दिए ।
सम्मेलनले संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुने गरी संयन्त्र तयार गर्न माग गरेको छ । सम्मेलनले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि ५ अर्ब लागतको लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारको बजार प्रवद्र्धनमा तीनै तहका सरकारको सहयोग हुनुपर्ने तथा निजी क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।
यस्तै, प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न माग गरिएको छ । सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाई, बीबीसी नेपाली सेवाका माधव नेपाललगायतले मोफसलका मिडियाको सबलीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।








प्रतिकृया दिनुहोस्