मौसमी अनुगमन, कारबाही गर्नुपर्ने स्वास्थ्य संस्थालाई छुट


भैरहवा– रुपन्देही सदरमुकाम सिद्धार्थनगर (भैरहवा) क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको बेथिति नयाँ होइन् । न्युनतम कानुनी कुराहरु पनि पालना नगरी यहाँ फार्मेसी, पोलिक्लिनक र ठूला भनिएकै अस्पताल संचालनमा छन् । मापदण्डविपरीत संचालित फार्मेसीले विरामीलाई भर्ना गरेर उपचार गर्दै आएको छन्, त्यस्ता फार्मेसीमा न दक्ष चिकित्सक छन् न त कानूनको पालना नै छ ।
स्वास्थ्य क्षेत्रमा यस्तो बेथिति मौलाइरहेको नगरमा अनुगमन छँदैछैन भने पनि हुन्छ । नगरमा उपप्रमखको नेतृत्वमा अनुगमन समिति हुन्छ । तर, अनुगमन मौसमी मात्रै छ । मौसमी अनुगमनले गर्दा स्वास्थ्य क्षेत्रमा बेथिति मौलाएको छ । यहीबीच सिद्धार्थनगर नगरपालिकाले आइतबार भैरहवाका केही स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ । तर, अनुगमनका क्रममा सामानय दर्ता जस्तो मापदण्ड पनि पालना नगरेका फार्मेसीलाई छुट दिइएको छ ।
नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेका औषधि पसल, स्वास्थ्य क्लिनिक, डेन्टल लगायत स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो । अनुगमन समितिको संयोजक एवं उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा नियमित अनुगमन अन्तर्गत १७ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको जनाएको छ । नगरपालिकाले नियमित अनुगमन गरेको भने पनि स्वास्थ्य संस्थामा पहिलोपटक अनुगमन गरिएको छ ।
मौसमी अनुगमनलाई नगरपालिकाले ‘नियमित’ भनेर भ्रम छरेको स्थानीय अगुवाहरु बताउँछन् । अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु नगरपालिकाको कार्यालयमा दर्ता तथा नविकरण नभइ संचालनमा रहेको पाइएको समिति संयोजक अधिकारीले बताइन् । तर, कारबाहीको दायरामा नल्याउँदा अनुगमन समितिको क्षमतामै प्रश्न चिन्ह खडा भएको छ ।
अनुगमनका क्रममा एउटा औषधि पसलमा म्याद ग्रुजिएको औषधि र दर्ता पनि नरहेको पाइएपछि जफत गरी उक्त पसल तत्कालका लागि बन्द गरिएको छ । तर, अन्य १६ वटा औषधि पसल, क्लिनिक, डेन्टललाई भने छुट दिइएको छ । अनुगमन समितीले बन्द गरेको पसल संचालकलाई पसलसँग सम्बन्धित कागजातहरुसहित नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । बाँकीले छुट पाए ।
स्वास्थ्य संस्थाहरुमा मनपरी भएकाबारे निरन्तर आवाज उठ्दै आएका छन् । भैरहवाकै धेरै भिडियो एक्सरे गर्ने संस्थाहरुले मनपरी शुल्क लिइरहेका छन् । केही दिन अघि एउटा भिडियो एक्सरे गर्ने संस्थाले एकजनासँग २ हजार रुपैयाँ लिएको भन्दै बिलसहित बाहिर आएको थियो । भैरहवाकै भिडियो एक्सरे गर्ने अन्य स्वास्थ्य संस्थाले १ एक हजार देखि १ हजार ३ सयसम्म रुपैयाँ लिने गरेका छन् । तर, २ हजार लिएको उक्त संस्थामा अनुगमन गरियो । तर, कारबाही गरिएन । अन्य भन्दा बढी शुल्क लिएकोबारे खासै सोधखोज भएन ।








प्रतिकृया दिनुहोस्