लुम्बिनीका नाकाहरूमा कडाइ


भैरहवा– लुम्बिनी प्रदेशका नाकाहरुमा कडाई छ । गत असारदेखि भन्सार र सुरक्षाकर्मी नाकाहरुमा कडाई गरेका छन् । भारतीय बजारबाट खरिद गरेर आउने उपभोक्तालाई १ सय रुपैयाँ बढीको सामान लिएमा भन्सारमा अनिवार्य प्रज्ञापनपत्र भराई राजश्व तिराउने थरिएको छ । नेपाली नाकाहरुमा कडाई हुँदै गर्दा भारतीय पक्षले पनि नाकामा कडाई गर्न थालेका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भारतीय पक्षले भारत प्रवेशमा अनिवार्य परिचय पत्र लागू गरेको जनाए । विगतमा पनि परिचय पत्र हेरेर भारत प्रवेश दिँदै आएको भारतले पछिल्लो पटक पाकिस्तानी महिला सीमा हैदर भारत प्रवेश गरेपछि थप कडाई गरिएको हो ।
विना रोकतोक पाकिस्तानी नागरिक भारत जाँदा सुरक्षा चुनौती महसुस गरेको भारतले नाकामा थप कडाई गरिरहेको छ । भारतबाट नेपाल प्रवेशमा पनि उसले विशेष सुरक्षा जाँच गरिरहेको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विकले नियमित प्रक्रियाअनुसार नै भारतले चेकजाँच गरिरहेको जनाए । ‘उनीहरुले आफ्नो देशको सुरक्षालाई ख्याल गरी कडाई गरेका हुनसक्छन्’, उनले भने, ‘यसमा नेपाली पक्षले अन्यथा जनाउनुपर्ने कुरै भएन ।’
उनले नेपाल प्रहरी, भन्सार र सशस्त्रले पनि नेपालतर्फ कडाई गरिरहेको जनाए । केही दिन यता भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेको हो । भारततिर जाने र नेपालतिर आउने दुवैलाई चेकजाँचमा कडाइ गरिएको हो ।
सीमावर्ती बजारमा किनमेलका लागि बाक्लो आउजाउ हुँदा भारतीय सुरक्षाकर्मीले नेपालीलाई खासै रोकतोक गर्दैनथ्यो । तर केही दिन यता तस्बिरसहितको परिचय खुल्ने कागजात हेरेरमात्र भारतीय सुरक्षाकर्मीले आफ्नो क्षेत्रमा प्रवेश दिने गरेको छ ।
भारतीय सीमा सुरक्षा बलका उच्च अधिकारीले केही दिनअघि सीमा नाकाको निरीक्षण गरेपछि नाका क्षेत्रमा थप कडाइ गरिएको बताइन्छ । सिद्धार्थ नगरपालिका–९ की सरिता सापकोटाले विगतमा आफू भारतीय बजार सुनौली जाने गरे अहिले नेपाली पक्षबाट कढाई भएकाले आफू खरिददारीका लागि जान छाडेको बताए ।
उनले भारतीय सुरक्षाकर्मीले पनि नाकामा कडाई गरेको जनाइन् । परिचय पत्र हेरेर स्क्यानर मेसिनले जाँच गरेपछि मात्रै भारत प्रवेश दिइन्छ । यसका साथै भारतीय प्रहरीले नेपालीहरूलाई परिचय पत्र माग्ने, गाडीबाट झारेर सोधपुछ गर्ने जस्ता दुःख दिने काम गरेको पनि नेपालबाट भारत प्रवेश गर्नेले गुनासो गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नाका कडाइको विषयमा औपचारिक रूपमा केही नआएको तर शंकास्पद लागेका व्यक्तिलाई सोधपुछ गर्ने गरेको सुनिएको बताए । केही अघि पाकिस्तानी महिला सीमा हैदर काठमाडौँ आएर स्थलमार्ग हुँदै भारत पुगेको घटना प्रकाशमा आएपछि सीमा क्षेत्रमा कडाइ गरिएको केहीको बुझाइ छ । सीमा हैदरको भारत आगमनलाई भारतमा निकै चर्चा र चासोका साथ हेरिएको छ । सुनौलीसहित कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, बाँकेको जमुनाहा, दाङको कैलाबास र बर्दियाका नाकाहरु पनि भारतीय पक्षले कडाई गरेको छ ।








प्रतिकृया दिनुहोस्