भूमाफिया चौधरीले अन्ततः तिरे कलमावतीलाई जग्गाको रकम


भैरहवा– जग्गा धनी नै उपस्थित नभई विनापैसा मालपोत कर्मचारीको मिलेमतोमा भूमाफिया ढलबहादुर चौधरीको प्रयासमा हरिप्रसाद पोखरेल र जवाहरलाल कसौधनले पास गरेको जग्गाको पैसा अन्ततः पीडितलाई उपलब्ध गराएका छन् । असार २७ र २८ गते गरी दुई दिनमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा बेलबास–बेथरी सडकखण्ड अन्तर्गत चारलेन सडकसँग जोडिएकोे करोड रुपैयाँको जमिन भूमाफिाहरुले आफ्नो नाममा गराएका थिए ।
नेपालमा अपुतालीवापत जग्गा पाएकी भारतीय महिला कलमावती यादवको जग्गा भूमाफिया सियारी–२, भगदरीका चौधरीको सेटिङमा गुल्मी दिगाम घर भई बुटवल बसोबास गर्ने पोखरेल र बुटवल–२ घर भएका कसौधनको नाममा पास गरिएको थियो । यसबारे समाचार बाहिर आएपछि चौधरी स्वयंम मालपोत कार्यालय, भैरहवामा उपस्थित भएर यादवलाई नगद ९० लाख रुपैयाँ र ४० लाखको चेक उपलब्ध गराएका हुन् । यादवले आफूले पैसा पाएको बताइन् ।
कलमावतीको काकीको नाममा रहेको उक्त जग्गा भूमाफिया पोखरेलको नाममा सियारीस्थित साविक मैनहिया गाविसको वडा नम्बर ७ (क) कित्ता नम्बर ६७ को १४ कठ्ठा ८ धुरबाट ६ कठ्ठा ४ धुर र सोही गाविसको वडा नम्बर ७ (ख) को कित्ता नम्बर १०० को २ कठ्ठा १३ धुर गरि ८ कठ्ठा १७ धुर जग्गा पास गरिएको थियो । यस्तै, बुटवलका जवाहरलाल कसौधनको नाममा साविक मैनहिया गाविसको वडा नम्बर ७ (ख) कित्ता नम्बर १२० बाट ५ कठ्ठा साढे १३ धुर जग्गा पास भएको थियो । यी सबै जग्गा आफ्नो नाममा बनाउँदा जग्गाधनीलाई एक रुपैयाँ पनि दिइएको थिएन भने कलमावती मालपोतमा उपस्थितिसमेत थिइनन् ।
ढलबहादुरले मालपोतमा उपस्थित भएर ९० लाख नगद दिँदा ४० लाखको आफ्नो नामको चेक हस्तान्तरण गरेका थिए । बजार मूल्य अनुसार उक्त जग्गाको मूल्य ६ करोड बढी पर्ने भए पनि १ करोड १६ लाखमा डिल भएको थियो । पछि कलमावतीका भाइले विगतमा १६ लाख ऋण लगेको भन्दै ढलबहादुरले १ करोड मात्रै दिने जनाएका थिए । तर, मालपोतमा भएको छलफलमा ढलबहादुरले कलमावतीका भाइ राजिन्द्र यादवले १६ लाख लगेको प्रमाण पेस गर्न नसकेपछि १ करोड १६ लाख नै दिन तयार भएका हुन् ।
मलपोतमा जग्गा पास गर्दाको थैली १ करोड ३५ लाख देखाइएको छ । तर, पीडित १ करोड १६ लाख लिन सहमती भएर रकम बुझेकी हुन् । चौधरीले यही शुक्रबार रकम उपलब्ध गराउने गरी ४० लाखको चेक पीडितलाई उपलब्ध गराएका छन् । दुई वर्ष अघि कलमावतीका भाइ राजिन्द्रको जग्गा खानकै लागि आफन्तले हत्या गरेका थिए । भाइको हत्या पछि उनले सम्पत्ती दावी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दिएकी थिइन् ।
राजिन्द्र यादवको भागमा पर्ने जग्गा पछि अदालतको फैसला अनुसार कलमावती यादवले पाइन् । तर, भारतमा विवाह भएको, उतैको नागरिकता प्राप्त गरेका कारण उनले जग्गा विक्री गर्नुपर्ने भयो । अदालतले पनि जग्गा कलमावतीको नाममा नजाने तर विक्री गर्न आदेश दियो । सुरुवातदेखि नै उक्त जग्गामा आँखा लगाएका भूमाफिया ढलबहादुरले कलमावतीलाई अदालतमा मुद्दा दर्ता गर्न समन्वय गरेका थिए । मुद्दा टुंगो लागेपछि भने उनले कलमावतीलाई झुक्याए र करोडौंको जग्गा अरुको नाममा पास गराई आफूले करोड रकम बुझेका थिए । समाचार बाहिर आएपछि उनको चौतर्फी आलोचना भयो र अन्ततः उनले पीडितलाई रकम भुक्ताती गरेका हुन् ।








प्रतिकृया दिनुहोस्