‘कोशेली’मा भन्सारले चिन्ता


कपिलवस्तु– भारतबाट स्थल मार्ग हुँदै आउनेजाने यात्रुले एक सय रुपैयाँभन्दा बढीका समान ल्याउँदा–लैजाँदा भन्सार लाग्ने ब्यवस्था गरेपछि पारि भारतबाट समान ल्याउने यात्रु घटेका छन् । सरकारले गत जेठ १५ गते राजपत्रमा भन्सारको यात्रु शाखामा जाँचपास गराएर लैजान सूचना प्रकाशित गरेर असार १ गतेबाट यो नियम लागु भएको हो ।
एक सय रुपैयाँभन्दा बढीका समान ल्याउनेसँग असार १ गतेदेखि ६ गतेसम्म दैनिक २० हजारदेखि ३० हजारसम्म भन्सार राजस्व संकलन भएको थियो । भन्सारका अनुसार असार ७ गतेदेखि उक्त राजस्वको २५ प्रतिशत पनि संकलन हुन नसकेको सुठौली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत चुराबहादुर सर्तुङगीले बताए ।
असार सुरुमा ३० देखि ४० यात्रु आउने गरेकामा साउनमा दुईदिन यता समान लिएर १० जना यात्रु पनि नआएको उनले बताए । ‘यसले गरिब विपन्न दैनिक ज्याला मजदुरी गरि छाक टार्नेलाई समस्या त परेको छ,’ उनले भने्, ‘तर, सरकारको निर्णय मान्नु नागरिकको दायित्व हो ।’ सुरुमा अप्ठयारो परे पनि विस्तारै सहज हुँदै जाने उनले बताए ।
उता सुठौली भन्सार नाकामा हिँडडुल गर्न पनि डर लाग्न थालेको स्थानीय नागरिक अगुवा हजरत अलीले बताए । स्थानीय नागरिकको गुट्का खाने अम्मल छ । सय रुपैयाँभन्दा बढीको गुटका गोजीमा भए भन्सार कर्मचारीले च्पाप्प समातेर लगेर भन्सार तिराउने भए । ‘सानो तिनो अमलका लागि भन्सार लिन थालिएको छ,’ उनले भने, ‘ज्याला मजदुरी गरेर हातमुख जोर्नेको अवस्था के होला ?’
एक सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सार शुल्क तिर्नु पर्ने नियम बनाउनु दुःखद रहेको सीमाको यशोधरा गाउँपालिकाका पूर्व अध्यक्ष गिरजेश पाण्डेले बताए । रोटी र बेटीको सम्बन्ध रहेको दुई देशका नागरिक चुलोचौको गर्न चिनी, चियापत्ती, नुनतेल ल्याउँदा पनि कर तिर्नु दुर्भाग्य भएको बताए ।
‘माईत गएकी चेलीले घर फर्कंदा पाहुर ल्याउँदा कर तिर्नु कत्ति दुःखदायी छ,’ उनले भने्, ‘पाहुर पनि कर तिरेर खादा मिठान खट्टो हुने भो ।’ कर छल्ने ठूला औद्योगिक घरानासँग कर उठाउन नसक्ने अनि गरिब जनतालाई करको भारी बोकाउनु न्यायोचित नरहेको स्थानीय मनिष मिश्रले बताए । धर्मकर्म गरेर घर फर्कंदा, भगवानको प्रसाद ल्याउँदा, कोशेली ल्याउँदा पनि कर लिने सरकार कस्तो होला ?, त्यो छर्लङ भएको उनले बताए । भैरहवा नाकामा पनि अहिले एक सय रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार तिराइरहेको छ ।








प्रतिकृया दिनुहोस्