June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनीमा असार अन्तिमसम्म आधामात्रै रोपाइँ

भैरहवा– असार सकिनै लाग्दा लुम्बिनी प्रदेशमा जम्मा आधा मात्रै रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको जम्मा ५४.५२ प्रतिशत रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कुल ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यसमध्ये अहिलेसम्म १ लाख ६९ हजार ५७३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

Advertisement

समयमै वर्षा नहुँदा रोपाइँ न्युन भएको हो । असार अन्तिमसम्म विगतमा धान रोपाइँ सकिन्थ्यो । पछिल्ला वर्षहरुमा समयमै पानी नपर्दा रोपाइँमा ढिलाइ हुँदै आएको छ । सिंचाइँ हुने क्षेत्रमा रोपाइँ भए पनि अन्य ठाउँमा किसानले अघिल्लो हप्ताबाट मात्रै रोपाइँ सुरु गरिरहेका छन् । लुम्बिनी प्रदेशमा ४० प्रतिशत खेतमा सिंचाई सुविधा भएको बताइन्छ । तर, धान रोपाइँको अवस्था हेर्दा सिंचित क्षेत्र राम्रै रहेको सरकारी दावी मेल खाँदैन ।

Advertisement

निर्देशनालयका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार सबैभन्दा बढी प्यूठानमा धान रोपाइँ भएको छ । यहाँ ६ हजार ५२५ हेक्टरमध्ये ६ हजार १९९ हेक्टरमा धान रोपाइँ सकिएको छ । यस्तै, रोल्पामा ४ हजार ६३८ हेक्टर मध्ये ४ हजार २२१ क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । रुकुमपूर्वमा १ हजार ४१९ हेक्टर मध्ये १ हजार २४९, पाल्पामा ८ हजार २१० मध्ये ६ हजार ३२२ हेक्टरमा रोपाइँ सकिएको छ ।

यस्तै, पश्चिम नवलरासीमा २० हजार ५ सय मध्ये १३ हजार ३२५, रुपन्देहीमा ६३ हजार ४९७ मध्ये ३६ हजार १९६, कपिलवस्तुमा ७० हजार ७० हेक्टर मध्ये ४४ हजार ८४५, दाङमा ३७ हजार ४३० मध्ये १० हजार १०६ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा ३३ हजार मध्ये १३ हजार २ सय, बर्दियामा ४९ हजार ३३ मध्ये २५ हजार ९८७, गुल्मीमा ८ हजार ६७० मध्ये ३ हजार ९०२ र अर्घाखाँचीमा ८ हजार ५० मध्ये ४ हजार २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

पौडेलले यसपटक रोपाइँ ढिलो गरी सुरु भएको जनाए । ‘वर्षाका कारण विगतमा चाँडै रोपाइँ हुने जिल्ला र ठाउँहरुमा पनि यसपटक ढिलो रोपाइँ भएको छ’, उनले भने, ‘पछिल्ला दिनमा वर्षा नियमित जसो भइरहेका साउन १५ भित्रै सबै रोपाइँ सकिन्छ भन्ने हाम्रो अनुमान छ ।’ उनले समयमै रोपाइँ नहुँदा उत्पादन घट्ने हो की भन्ने चिन्ता पनि बढेको जनाए ।

पछिल्लो समय पानी परेपछि किसानले रोपाइँ गर्न पाउँदा केही खुशी त भएका छन् तर, मल अभावको पीडा भने भनिसाध्य छैन । सिंचाई अभावमा वर्सेनि आकासे पानीको भर पर्ने र मलका लागि भारतीय बजार धाउनुपर्ने बाध्यता भने ज्युँकात्युँ छ । मर्चवारका किसान अबु हरेरा फकिरले सीमावर्ती क्षेत्रका किसानले चोरीपैठारी गरेर भारतबाट मल ल्याउन बाध्य भएको बताए । ‘समयमै पानी पर्दैन, अहिले पानी परे पनि मलका लागि भौतारिनु परेको छ’, उनले भने, ‘किसान सधैं मर्कामा छन् ।’

विगतमा यतिबेला किसानका खेत रोपाइँले हरियाली भइसक्थे । समयमै वर्षा भए जेठबाटै रोपाइँ सुरु हुन्थ्यो । यसपाली वर्षा नहुँदा प्रदेशमा लामो समय सुक्खा रह्यो । जसले गर्दा धेरै जमिन बाँझै देखिन्छन् । ढिला रोपाइँ हुँदा धानमा किरा लाग्ने र उत्पादन घट्ने सम्भावना बढी हुन्छ । सरकार किसानलाई मल र सिंचाईको व्यवस्था गर्नतर्फ लाग्नुपर्ने माग किसानको छ ।