June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

राजनीतिक खिचातानीले लुम्बिनीमा पाँच पालिकाले अझै ल्याएनन् बजेट

भैरहवा– संघ र प्रदेशमा जस्तै स्थानीय तहका नीति निर्माण, बजेट लगायतमा राजनीतिक खिचातानी बढीरहेको छ । जसको प्रभाव बजेटमा पनि परिरहेको छ । राजनीतिक आग्रह–पूर्वाग्रह, आफ्नो वडामा बजेट धेरै पार्न खोज्ने वडाध्यक्ष र यसलाई बेवास्ता गर्ने पालिका प्रमुखका कारण लुम्बिनी प्रदेशका पाँच स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् ।

Advertisement

स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्छ । तर, प्रदेशका १०९ पालिका मध्ये ५ वटाले अझै बजेट ल्याउन सकेको छैनन् । अझै बजेट ल्याउन नसक्ने पालिकामा रुपन्देहीको सम्मरीमाई, रोहिणी र कोटहीमाई गाउँपालिका छन् । यस्तै, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिकाले पनि बजेट ल्याउन सकेका छैनन् ।

Advertisement

पलिकाले आन्तरिक कारण देखाए पनि राजनीतिक खिचातानी मुख्य भएको स्थानीय बताउँछन् । रोहणी गाउँपालिकाले असार २७ गते बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको आन्तरिक कारणले ढिलाई भएको भन्दै अब बजेट ल्याइने जनाए ।

समयमा बजेट नल्याउने र पारित नगर्ने स्थानीय तहहरुको स्वमूल्याङ्कन मापन अंक घट्छ । स्वमूल्याङ्कन अंक घट्दा अनुदान रकम पनि कम हुन्छ । अर्कातर्फ समयमा बजेट पास नगर्दा स्थानीय तहलाई बजेट कार्यान्वयनमा पनि असर पर्छ । स्थानीय तह संचालन ऐनअनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट पेस गरी असार मसान्तभित्र पारित गर्नुपर्ने हुन्छ । तर, पाँच पालिका यो व्यवस्थामा चुकेका छन् ।