June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

भैरहवाको मुटुमा तरकारी मण्डीको बिजोग

भैरहवा– सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले स्थानीय निर्वाचनका बेला दिएको ‘ब्युटीफूल भैरहवा’ भन्ने नाराको खुब चर्चा थियो । स्थानीय मतदाता, शुभेच्छुक र सञ्चारकर्मीसित कुराकानीमा उनी भैरहवालाई मुलुककै नमूना र ब्युटिफूल सहर बनाउने बताउँथे । त्यसपछि यहाँका बासिन्दाको मुखमुखबाट ब्युटिफूल भैरहवाको चाहना सुनिन्थ्यो । अहिले आएर नगर प्रमुख मात्र ‘ब्युटिफूल’ लाग्छन्, नगरको अवस्था उस्तै छ । नगरभित्रका सबै संरचना व्यवस्थित हुन सकेका छैनन् ।

Advertisement

नगर प्रमुख खानले मात्रै होइन्, उपप्रमुख उमा अधिकारीले पनि नगरको सौन्दर्यता, बजार व्यवस्थापन लगायतका विषयमा निर्वाचनका मुखमा खुबै भाषण गरेकी थिइन् । उनीहरुका भाषण जनताले पत्याए र निर्वाचित गरे । तर, प्रमुख र उपप्रमुखले भनेअनुसार काम गर्न सकेनन् । जसले गर्दा बजारका मुख्य संरचनादेखि हरेक कुरा व्यवस्थित हुन सकेका छैनन् ।

Advertisement

सहर कति सुन्दर भन्ने कुुरा सर्वसाधरणको जमघट हुने स्थानको अवस्थाले दर्शाउँछ । सडक, जमघटस्थल, चिया, चमेना गृह, बजार, तरकारी मण्डी, बगैँचा व्यवस्थापनले सहरको सुन्दरता प्रष्टयाउँछन् । तर, सिद्धार्थनगर–८, स्थित मायादेवी तरकारी मण्डी (बजार) ले लामो समयदेखि नगर प्रमुख र उपप्रमुखको नारालाई गिज्याइरहेको छ । भैरहवाको मुटुमा रहेको तरकारी बजार हेर्दा नगरमै सबैभन्दा अव्यवस्थित देखिन्छ ।

केही दिन अघि पानी पर्यो । केही बेरमा तरकारी बजार हिलाम्य बन्यो । बजारमा गएर तरकारी खरिद गर्न हिलो बाधक बन्यो । बजारमा रहेका बोर्डमा ताजा तरकारी पाइन्छ, उल्लेख गरिएको छ । त्यहाँ पसलको सरसफाईको अवस्था नाजुुक छ । तरकारी हेर्दा ‘फ्रेस’ देखिन्नन् । सानो क्षेत्रफलमा धेरै पसल र ठेला राख्दा बजारै कुरुप देखिन्छ । साँझ बिहान ठेलमठेल चल्छ ।

बिहान ८ देखि १० बजे भित्र मुख्य सडकदेखि नै साइकल, मोटरसाइकल, गाडी र ठेलाले बजार र सडक जाम हुने गरेको छ । पाइला राख्ने ठाउँ भेटिँदैन । त्यस्तो बेला तरकारी खरिद गर्न जाँदा एकले अर्कोलाई धक्का दिएरै एक छेउबाट अर्कोसम्म पुर्याउँछन् । जहाँ पायो त्यहीँ थुक्नेदेखि हिँड्दा सवारीका साधन ठोकिन्छन् । साँझ बिहान बजारको प्रवेशद्वारदेखि पसल थाप्ने गरिएको छ । बीचमा ठेलामा फलफूल र तरकारी ब्यापारी बसिरहेका हुन्छन् । अलिकति खाली स्थानमा ग्राहकले गाडी, मोटरसाइकल र साइकल लगेर पार्किङ गर्छन् ।

यस्तो भद्रगोलमा सर्वसाधरणले सुरक्षित ढंगले कसरी तरकारी खरिद गर्ने ? मण्डी भित्रका पसलले ग्राहक हिँड्ने बाटोमा समेत तरकारी भण्डारण गर्ने गरेका छन् । यसले बजार फोहोर र कुरुप देखिने गरेको छ । तरकारी मानव स्वास्थ्यका लागि महत्वपूर्ण बस्तु हो । तर, यही बजारमा देखिएको भद्रगोल कसरी र कहिले अन्त्य हुन्छ ? ठेगान छैन ।

अर्कोतर्फ तरकारी बजार बाहिर ट्राफिक व्यवस्थापनमा लापरबाही छ । तरकारी मण्डी स्थलको अगाडि र आसपास गाडी र मोटरसाइकल जथाभावी पार्किङ गरिन्छ । ठूला गाडी प्रवेश गर्दा कामकाजीले हैरानी बेहोर्नु परेको छ । यस क्षेत्रमा नियमले सवारीका साधन चलाउने कोही भेटिँदैन । जसले गर्दा लामो समय जामको समस्या छ । जाम खुलाउन प्रहरी तैनाथ हुँदैनन् । भीडभाड र लापरबाहीले तरकारी मण्डी क्षेत्रमा दुर्घटनाको खतरा देखिन्छ ।

स्थानीय कृष्ण आचार्यले तरकारी बजारको दूरावस्थाप्रति कसैको चासो नभएको बताउँछन् । ‘यस्तो अव्यवस्थित र भद्रगोल तरकारी बजार अन्यत्र छैन, हाम्रा जनप्रतिनिधि के हेरेर बसेका छन् अत्तोपत्तो छैन’, उनले भने, ‘चुनावका बेला मिठामिठा गफ र नारा दिनेले काम गर्दैनन् भन्ने उदाहरण तरकारी बजार बनेको छ ।’ यो तरकारी बजारलाई कति कान्छी बजार पनि भन्छन् । यहाा नगरपालिकाले ठेकेदारमार्फत् मण्डी संचालन गरेको छ । नगरले चासो नदिँदा ठेकेदारले व्यवस्थापनमा धयान नदिएको आरोप लाग्ने गरेको छ । नगर प्रमुख र उपप्रमुखका नारा, ठाउँठाउँमा गर्ने भाषण बोलीमै सीमित हुँदा तरकारी बजार झनपछि झन कन्त विजोग बन्दै गएको आरोप नगरबासीको छ ।