नवीकरण अन्योलले आजबाट क्रसर उद्योग ठप्प


भैरहवा– सरकारले नवीकरणमा चासो नदिँदा अवैध उद्योगी बन्नु परेको गुनासो गर्दै लुम्बिनी प्रदेशका क्रसर व्यवसायी आन्दोलित बनेका छन् । वर्षौदेखि राज्यले आफ्नो माग सुनुवाइ नगरेको उल्लेख गर्दै क्रसर उद्योगीहरुले आजबाट ढुङ्गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प बनाएका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा लुम्बिनी प्रदेशका उद्योगीले आजबाट क्रसर उद्योगहरु बन्द गरेका हुन् । व्यवसायीले पत्रकार सम्मेलन गरेर मागप्रति सरकार कहिल्यै गम्भीर नबनेको आरोप लगाए ।
पत्रकार सम्मेलन मार्फत क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको हो । यसअघि महासंघले गत माघ ११ गते क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको सार्वजनिक गरेको थियो ।
गत ३ असारमा नै महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो ।
महासंघका महासचिव पुरुषोत्तम रेग्मीले निर्णाय गरेर पनि सरकारले सहमती कार्यान्वयन नगरेपछि आन्दोलनमा जानमा जानुपरेको बताउँछन् । पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपर्छ । गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो ।
तर, उद्योगीहरुले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय अस्पष्ट भएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु क्रसर नवीकरण गर्न तयार भएका छैनन् । निर्णय कार्यान्वयन गर्न दबाब दिने उद्देश्यसहित व्यवसायीले आन्दोलन थालेका हुन् । उनीहरुको आन्दोलनपछि सरकारले फेरि क्रसर उद्योगलाई एक वर्षका लागि वैधता दिने सम्भावना बढेको छ ।








प्रतिकृया दिनुहोस्