June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी प्रदेशमा सुक्खा, जम्मा ११ प्रतिशत रोपाइँ

भैरहवा– धान उत्पादनको केन्द्र लुम्बिनी प्रदेशमा सुक्खाको मार परेको छ । मुलुकभरि धान दिवस मनाइरहँदा प्रदेशका किसान खेतका आलीमा बसेर पुर्पुरोमा हात लगाउन बाध्य छन् । प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म ६ जिल्लामा धान उत्पादन हुने गरेको छ । मुलुकमै धान उत्पादनका लागि उर्वर क्षेत्रका किसान सुक्खाको मारमा परेकोबारे कसैलाई चिन्ता छैन ।

Advertisement

प्रदेशमा सरकारी कार्यालयले धान दिवसका लागि कार्यक्रम आयोजना गरेका छन् । असार १५ सम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । यसपटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । सिचाइँ पुगेको भए आधा रोपाइँ भइसक्ने कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताए । उनका अनुसार सुक्खा भएकाले जम्मा ११ प्रतिशतमात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा झण्डै ३२.७१ प्रतिशित रोपाइँ भएको उनले जानकारी दिए । ढिलो रोपाइँको उत्पादनमा असर देखिने उनले बताए ।

Advertisement

लुम्बिनीमा धान खेतीयोग्य ३ लाख ११ हजार ४२ हेक्टरमध्ये अहिलेसम्म ३४ हजार ४ सय ८३ हेक्टरमामात्रै रोपाइँ भएको छ । प्रवक्ता मरासिनीकाअनुसार क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै कपिलवस्तु र सबैभन्दाकम रुकुमपूर्वमा धान खेती गरिन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने रुकुमपूर्वमा १ हजार ४ सय १९ हेक्टरमा धान लगाइन्छ । अहिलेसम्म कपिलवस्तुमा ४ हजार २ सय ४ हेक्टर अर्थात् धान खेती हुने क्षेत्रफलको ६ प्रतिशतमामात्रै रोपाइँ भएको छ भने रुकुमपूर्वमा ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रूपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रूपन्देहीमा धान उत्पादनहुने ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशको धानउत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङमा कुल धान रोपाइँ हुने ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ९० हेक्टरमा रोपाइँ भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टरमध्ये ४ हजार ९ सय ३ हेक्टर अर्थात् १० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५ सय हेक्टरमध्ये २ हजार ४ सय ६० हेक्टर अर्थात् १२ प्रतिशतमामात्रै रोपाइँ भएको छ ।

प्रदेशका पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादनहुने गुल्मीमा ८.५ प्रतिशतमा रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ भने अहिलेसम्म ७ सय ३७ हेक्टरमामात्रै रोपाइँ सकिएको छ । पाल्पामा ८ सय २१ हेक्टर अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २ सय १० हेक्टरमा रोपाइँ हुने प्रवक्ता मरासिनीले बताए । प्यूठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखाँचीमा १० प्रतिशतमात्रै रोपाइँ भएको छ ।

अर्घाखाँचीमा ८ सय ५ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । अर्घाखाँचीमा ८ हजार ५० हेक्टरमा धान खेती हुने उनको भनाइ छ । उता रोल्पामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान खेती हुने ४ हजार ६ सय ३८ हेक्टरमध्ये २ हजार १ सय १० हेक्टरमा रोपाइँ सकिएको छ ।