June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

ढिलो वर्षाले उत्पादन घट्ने चिन्ता

भैरहवा– समयमै वर्षा नहुँदा किसानलाई सधैं पिरोल्छ । धान, गहुँ, तोरी, मकै लगाउने र फल्ने बेला आवश्यक वर्ष नहुँदा चिन्ता बढ्दो छ । यसले उत्पादनमा ह्रास ल्याइरहेको छ । जलवायु परिवर्तनको असर सिंगो विश्वले भोगिरहेको छ । मानवीय गतिविधिले वर्सेनि जलवायुमा असर गरिरहँदा सबै किसिमका अन्न उत्पादनमा गिरावट भइरहेको छ । यसका साथै मानव स्वास्थ्यलाई पनि असर गरिरहेको छ ।

Advertisement

अनियमित वर्षा र लामो सुक्खाले यो वर्ष पनि धान रोप्ने र फल्ने समय ठेगान नभएपछि किसान चिन्तित छन् । परम्परागत रुपमा जेठ–असारमा रोपेर कार्तिक–मंसिरमा धान स्याहार्दै आएका किसान अहिले बिलखबन्दमा छन् । केही वर्षयता सुक्खा पर्न थालेपछि साउन र भदौंमा समेत रोपाइँ गर्नुपर्ने बाध्यता छ । ढिलो रोपेपछि कहिले धान फल्छ यकिन छैन । यसरी बालिको चक्र प्रभावित भएपछि भोकमरी लाग्ने चिन्ता छ ।

Advertisement

अहिले धान रोप्ने बेला हो । तर, खेत आधा पनि धान रोपाइँ भएको छैन । केही दिनयता पानी परेर राहत मिले पनि किसानले यहीबेला पर्याप्त मल पाइरहेका छैनन् । पहिले जस्तो घरकै कम्पोष्ट मलले उत्पादन गर्ने समय छैन । सबैले राससायनिक मल प्रयोग गर्छन् । अहिले स्थानीय सहकारीले मल वितरण गरिरहेका छन् । जुन आवश्यक भन्दा निकै थोरै रहेको किसानले गुनासो गर्दै आएका छन् ।

दाङको राप्ती गाउँपालिका–६, किसान चुरामणि न्यौपाने पहिले प्रत्येक वर्ष एउटै सिजनमा धान रोपाइँ हुने गरेको सम्झिन्छन् । ‘त्यसबेला कुलामा पानी हुन्थ्यो । वर्षा नभए पनि त्यही पानीले खेती गरिन्थ्यो । अहिले कुला सुकेका छन् । खोलानालामा पानी छैन । अव्यवस्थित प्लानिङले भएका कुला मासिसकेका छन् । यसवर्ष रोपाइँ धकेलिने भयो’, उनले भने । किसानलाई सरकारलेसँगै वायुमण्डलले पनि ठगेको उनको चिन्ता छ ।

‘हामीले जेठमै धान रोपेर सक्थ्यौं, असार मध्यसम्म पनि रोपाइँ सुरुवात भएको छैन,’ प्यूठानको नौबहिनी गाउँपालिकाका किसान प्रेमबहादुर केसीले भने, ‘अब त खेती गर्न नसकिने भैसक्यो । न पानी पर्छ, न कुलो लाग्छ, आकाशे पानीको भर पर्दा धान खेती गर्न नै जाँगर लाग्न छाड्यो ।’

जलवायु परिवर्तनले खती गर्ने तरिका र समयावधिलाई समेत धकेलिरहेको छ । मध्य असारसम्म लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यो, पनि सिंचाई हुने ठाउँमा मात्रै । आकासे पानीको भर पर्ने ठाउँमा रोपाइँ सुरुवात नै हुन सकेको छैन । यसले किसानलाई झनै चिन्तित गराएको छ ।

‘जलवायु परिवर्तनको असर पनि हो,’ कृषि विज्ञ डा. रवीन्द्र चौबेले भने्, ‘पानी पर्ने समय नै फेरबदल भएको देखिन्छ । पहिले जस्तो जेठ–असारमा प्रशस्त पानी नपर्दा समस्या भइरहेको छ ।’ पहिले विषादी छर्न पर्दैन्थ्यो । बीउ पनि जोहो गरेर राखिन्थ्यो । अहिले सबै कुरा खरिद गर्नुपर्छ । पहिले जस्तो खेतीपातीका लागि मजदुरी गर्ने मानिस पाउन छाडेको उनले बताए । जसले गर्दा धान उत्पादन महंगो पर्न थालेको उनको भनाई छ ।

प्रदेश कृषि, भूमि तथा व्यवस्था मन्त्रालयले जलवायु परिवर्तनको असर खेतीपातीमा पर्न थालेको अनुमान गरिएको जनाएको छ । जलवायु प्रणलीमा यस वर्ष देखिएको परिवर्तनले उत्पादन ह्रास हुन्छ भनेर आंकलन गरिहाल्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । त्यसका लागि केही वर्षको नियमित अध्ययन गरेपछि बताउन मिल्ने जनाएको छ ।

लुम्बिनी प्रदेशमा ६ लाख ८६ हजार ७ सय ४ हेक्टर खेतीयोग्य जमिन छ । प्रदेशका तराईका ६ जिल्ला धान उत्पादनका भण्डार हुन् । मुलुकमै धान उत्पादनका लागि चिनिएका यी जिल्लामा मल अभाव र समयमै वर्षा नहुँदा यसपाली धान उत्पादन कम हुने चिन्ता किसानले व्यक्त गरेका छन् ।