मन्त्री पाण्डेयको नीतिः खल्तीका मिडिया पोस्ने, पत्रकारका संस्था लखेट्ने


भैरहवा– लम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले संचारमाध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई बजेट छुट्याउँदा विगतको जस्तै विवादास्पद नीतिलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०८०–२०८१ को बजेटमा आन्तरिक मामिला मन्त्रालयले खल्तीका मिडिया हाउसहरुलाई मोटो रकम विनियोजन गरेको छ । तर, पत्रकारहरुका संघसंस्थालाई उपेक्षा गरेको छ ।
मन्त्री सन्तोषकुमार पाण्डेयले मन्त्रालयको नेतृत्व सम्हालेपछि विगतको जस्तो निरन्तरता हुँदैन भन्ने धेरैमा अपेक्षा थियो । विगतमा लुम्बिनी सरकारले मिडियापिच्छे बजेट विनियोजन गरेर पत्रकारका संस्थालाई उपेक्षा गर्दा चर्को आलोचना भएको थियो । योपटक पनि त्यही निरन्तरता दोहोरिएपछि सरकार र मन्त्री पाण्डेयको चर्को आलोचना सुरु भएको छ ।
मन्त्री नियुक्त पछि पाण्डेयले विगतको अवस्था दोहोरिन नदिने भन्दै सरकारले सबैलाई समानुपातिक ढंगले हेर्ने जनाएका थिए । तर, मन्त्रीका कुरा ‘गफ’मै सीमित भएको पत्रकारहरुको आरोप छ । ‘उहाँले गफमात्रै गर्नुभयो, काम ठीक उल्टो गर्नुभयो, विगतमा पनि भौतिक पूर्वाधार मन्त्री हुँदा पत्रकारहरुलाई छक्याउनु भएको थियो । यसपटक त झनै उल्टो बाटो हिंड्नुभयो’, रुपन्देहीका एक पत्रकारले भने, ‘उहाँले काम होइन्, गफ र ढाँट्ने काम बढी गर्दै आउनुभएको छ ।’
ती पत्रकारले भनेजस्तै मन्त्री पाण्डेयले पनि त्यस्तै रवैया देखाउँदै आएका छन् । जनताको खुन पसिनाबाट कर तिरेको बजेट खल्तीका मिडियालाई पोस्दा मन्त्री पाण्डेय र सरकारको आलोचना भइरहेको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले मिडियामा बजेट विनियोजन लाजको पसारो भन्दै व्यङ्ग्य गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्– ‘मिडियामा बजेट विनियोजन लाजको पसारो । बेथितिकै निरन्तरता, लोकलाज त मानौं ।’
विगतका मन्त्रीभन्दा यसपटक मन्त्री पाण्डेयबाट समानुपाति बजेट विनियोजन हुनेमा धेरै पत्रकारको अपेक्षा थियो । तर, मन्त्री पाण्डेयले यस्तो रवैया देखाए की आसेपासे र पहुँचवाला मिडिया र खल्तीकालाई बजेट छुट्याए । यसले मन्त्री आफैलाई बेथितितर्फ धकेलेको प्रष्ट हुन्छ । सुशासन र मिडियामैत्री हुँ भन्ने मन्त्रीको लोक रिझाईशैलीले जनताको करमा मन्त्रीले कतिसम्म बद्मासी गर्छन् भन्ने प्रष्ट्याउँछ । हुनत पछिल्लो समय मन्त्री पाण्डेयप्रति उनकै क्षेत्रका बासिन्दासमेत सन्तुष्ट छैनन्, पत्रकार त टाढाको कुरा ।
पाण्डेयले जे काम पनि हुन्छ भन्ने तर काम नगर्ने शैली बढ्दै गएको उनको क्षेत्र रुपन्देही क्षेत्र नम्बर ३ (क)का बासिन्दा बताउँछन् । ‘पत्रकार र मिडियालाई छुट्याउने बजेटमा त उहाँ (मन्त्री पाण्डेय)ले बेथितिको सुरुवात गर्नुभयो भने अरु बजेटमा के गर्नुहोला ?’, सिद्धार्थनगरका एक स्थानीयले भने, ‘उहाँमा सुशासन देखिएन, पत्रकारजस्तो समाजको ऐनालाई झुक्याउनेले जनतालाई त पाइलेपिच्छे नढाँट्ने कुरै भएन ।’
मन्त्री पाण्डेयले बजेटमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीका प्रेस संयोजक दीपक बोहराका निजी सञ्चार माध्यमलाई तीन वटा शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गरेका छन् । यस्तै, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराई सम्पादक रहेको मिडियालाई पनि १० लाख रुपैयाँ मन्त्री पाण्डेयले छुट्याएका छन् । यी केही उदाहरण हुन्, मन्त्री पाण्डेयले यसरी पहुँचवाला र खल्तीका मिडियालाई करोड बढी बजेट छुट्याएका हुन् । यसले उनको साखमा धावा बोलेको पत्रकारहरु बताउँछन् ।
मुख्यमन्त्री रिझाएर प्रदेशको शक्तिशाली मन्त्रालय लिएका पाण्डेयले मन्त्री पदमा टिकिरहन यस्ता हर्कत गरेको हुनसक्ने कतिपय पत्रकारहरुको आशंका छ । ‘उहाँ (मन्त्री पाण्डेय) पदका लागि मरिहत्ते गर्ने नेता हो, विगतमा पार्टी नै छाडेर मन्त्रीका लागि सरकारमा जाँदा सांसद पद गयो, लामो समय उहाँको निर्वाचन क्षेत्र खाली रह्यो’, एक पत्रकारले भने, ‘अहिले पदमा बसिरहन बेथितिलाई प्रसय दिनुभयो ।’ स्थानीय र पत्रकारले भनेजस्तै मन्त्री पाण्डेयले नेपाल पत्रकार महासंघ १२ वटाका जिल्लाका शाखा, लुम्बिनी प्रदेश क्लब जस्ता संस्थालाई उपेक्षा गरेर पहुँचवाला र खल्तीका मिडियालाई बजेट छुट्याएका छन् ।








प्रतिकृया दिनुहोस्