June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

झ्याप्प–झ्याप्प विद्युत जाँदा हैरानी, जनस्तरबाट सडकमै सुतेर विरोध

भैरहवा– मुलुक लोडसेडिङमुक्त छ । तर, छिनछिनमा विद्युत कटौती रोकिएको छैन । अनियमित विद्युत कटौतीले आमनागरिक हैरान छन् । खासगरी लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पश्चिम नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा यो समस्या बढी छ । प्रदेशका अन्य जिल्ला भन्दा औद्योगिक क्षेत्र भएका यिनै पर्छन् । पछिल्लो समय विद्युत कटौती भनिसाध्य छैन । यसबाट चर्को गर्मीमा सर्वसाधरणले नराम्रोसँग दुःख खेप्नु परेको छ ।

Advertisement

झ्याप्प–झ्याप्प विद्युत आउजाउ हुँदा पंखा, पानी तान्ने मोटर, टिभी, फ्रिज, कम्प्यूटर लगायतका बिद्युतीय उपरकण जल्ने गरेका छन् । यसबाट सर्वसाधरणले लाखौं क्षति व्यहोर्नु परेको छ । नेपाल विद्युत प्राधिकरणको यो रवैयाप्रति स्थानीय आक्रोसित छन् । यसैले फरकफरक ढंगले सर्वसाधरणले प्राधिकरणको विराधे गर्ने, डेलिगेसन जाने, विद्युत आपूर्ति सहज बनाउन भन्ने र बरु कार्यतालिका बनाएरै लोडसेडिङ गर्न भनिरहेका छन् ।

Advertisement

दुई दिन अघि धैरहवाका आधा दर्जन संघसंस्था, स्थानीय अगुवा, स्थानीय बासिन्दा जम्मा भएर भैरहवास्थित विद्युत प्राधिकरणको कार्यलयमा डेलिगेसन गएका थिए । उनीहरु आक्रोसित हुँदै कार्यतालिका बनाएर लोडसेडिङ गर्न सुझाए । ‘घरका सबै विद्युतीय समान जलेर गए, छिनछिनमा विद्युत जान्छ, नियमित छैन । हाम्रो नोक्सानी भएको क्षति प्राधिकरणले दिन्छ ?’, भैरहवा सामाजिक अगुवा विजय गोविन्द श्रेष्ठले भने, ‘अब हामी आजीत भयौं, कति सहेर बस्ने ? गर्मीले आकुलब्यागुल पार्यो, विद्युत आउनेजाने कुनै ठेगान छैन । सबै विद्युतीय समान विग्रिए ।’

उनका मात्रै होइन्, डेलिगेसन गएका ४० बढी स्थानीय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुमा विभिन्न आक्रोस थियो । उनी प्राधिकरणले अन्याय गरेको र गर्मी बालबच्चा विरामी हुन थालेको भन्दै आलोचना गरे । बाँकेमा भइरहेको विद्युत् अनियमितता विरुद्ध सडकमा सुतेर स्थानीयले दबाब दिएका छन् । सोमबार मात्रै विद्युत् अनियमितता हुँदा मर्का परेको भन्दै नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर नागरिक अगुवा, सर्वसाधारण लगायतले घेराउ गरेका थिए । घेराउ गर्ने क्रममा उनीहरुले चर्का नाराबाजी गरे । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए ।

स्थानीयले गत जेठ ११ गते विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई विद्युत् नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर, माग सुनुवाइ नभएको उनीहरुको भनाइ छ । सो क्रममा नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, करिस्मा योगी, प्रकाश कुँवर लगायतले सम्बोधन गरेका थिए । प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि विद्युत् कार्यालयले काम गरिरहेको बताएका थिए । सो क्रममा उनीहरुले वितरण केन्द्र प्रमुख प्याकुरेललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

छिनछिनमा हुने अघोषित लोडसेडिङबाट सबैजसो नागरिक प्रताण्डित भएका छन् । दाङ, कपिलवस्तु, पश्चिम नवलपरासी लगायतका जिल्लामा पनि उद्योगीदेखि स्थानीयसम्मले प्राधिकरणको ध्यानआकर्षण गराएका छन् । उनीहरुले विद्युतको आपूर्ति सहज बनाउन आग्र गरिरहेका छन् । तर, विद्युत कटौती रोकिएको छैन । स्थानीय दर्जनपटक डेलिगेसन गइसकेका छन् ।

भैरहवा वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले समस्या समाधानका लागि प्राधिकरण लागिपरेको जनाए । ‘पानी परे समस्या स्वतः समाधान हुन्छ । आज केही पानी पर्यो, फेरि पर्यो भने सहजता होला’, उनले भने । मंगलबार भैरहवा लगायतका ठाउँमा पानी परेको छ । तर, विद्युत छिनछिनमा कटौती हुन भने रोकिएको छैन । यसको जनस्तरबाट निरन्तर आलोचना भइरहेको छ ।