June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

सुनचाँदीका गहनासहित दुई पक्राउ

भैरहवा– रुपन्देही प्रहरीले चोरीको आरोपमा भैरहवाबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराजगंज थाना फरेन्दा घरभई हाल रुपन्देही सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने वर्ष ३४ को सुधिर कुमार यादव र परिवर्तित नाम भैरहवा ४६ (२०७९–०८०) छन् । एक जना नाबालक भएकाले उनको परिचय गोप्य राखिएको छ ।

Advertisement

उनीहरुको साथबाट सुन जस्तो देखिने एकथान ३१.६७ ग्रामको पहेंलो धातुको हार, सुनको जस्तो देखिने पहेंलो धातुको एकथान ९.४८ ग्रामको मागरिका, सुनको जस्तो देखिने पहेंलो धातुको २ थान ३.८९ ग्रामको कटौरी बाली, सुनको जस्तो देखिने पहेंलो धातुको २ थान ०.१९ ग्रामको ढंके फुली, १.७२ ग्रामको ५ थान जलिदार फुली प्रहरी बरामद गरेको छ ।

Advertisement

यस्तै, सुनको जस्तो देखिने पहेंलो धातुको ओम लेखेको ०.५६ ग्रामको एकथान, चाँदी जस्तो देखिने सेतो धातुको १४३ ग्रामको २ थान पायल र चाँदी जस्तो देखिने सेतो धातुको खुट्टामा लगाउने १०० ग्रामको पायल २ थान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जनाए ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित मोहम्मद कुद्धुस मुसलमानको घरमा ताला फोडी सुन चाँदीका बिभिन्न गरगहना तथा नगद रकम चोरी भएको भनी सूचना प्राप्त भई अनुसन्धान गर्दै जाँदा उनीहरु दुई जनालाई पक्राउ गरिएको प्रहरी भनाईछ । उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी अर्यालले जनाए ।