पेट्रोल पम्पको अनुगमनः गुनासो नआउने गरी प्रेट्रोलियम पदार्थ विक्री गर्न निर्देशन


भैरहवा– जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा समितिले पेट्रोल पम्पहरुको अनुगमन गरेको हो ।
पेट्रोलियम पदार्थमा मिसावटको आशंका र केही जनगुनासोका आधारमा केही पम्पहरुमा अनुगमन गरिएको रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । समितिले चारवटा पम्पमा अनुगमन गरेको जनाएको छ । जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयाल निगम, जिल्ला प्रहरी लगायतको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा गुनासो आएअनुसारको मिसावट, कम मात्रामा तेल विक्री गरेको वा अन्य कुनै किसिमका कैफियत नभेटिएको अर्यालले बताए । ‘हामीले नियमित अनुगमन गरिरहेका छौं, उपभोक्ता ठगिनु हुँदैन, बजारमा कालोबजारी हुनुहुँदैन भन्नेमा सचेत छौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘विभिन्न समयमा फरक–फरक क्षेत्रको अनुगमन भइरहेको छ । गलत गर्नेलाई कानूनी दायरामा ल्याएका पनि छौं ।’ उनले पेट्रोल पम्प अनुगमनका क्रममा गुनासो नआउने गरी विक्रीवितरण गर्न निर्देशन दिइएको जनाए ।
‘उपभोक्तालाई मर्का पर्ने गरी कुनै पनि गतिविधि वा मिसावट भए कानूनी दायरामा ल्याइन्छ, त्यसैले कहींकतै गुनासो नआउने गरी पेट्रोलियम पदार्थको विक्री गर्न निर्देशित गरेका छौं, निर्देशन पालना भएनभएका बारे पुनः अनुगमन गर्ने छौं’, उनले भने । अर्यालले बजार अनुगमन नियमित र छड्के गरी भइरहेकाले कसैले पनि जालसाजी, ठगी वा मिसावट नगर्न सबैलाई आग्रह गरे ।








प्रतिकृया दिनुहोस्