June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

तानसेनमा रोजगार मेला

पाल्पा– पाल्पाको तानसेनमा पहिलो पटक एक दिने ‘बृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ सम्पन्न भएको छ । तानसेन नगरपालिकाको आयोजनामा भएको मेलामा ३७ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको कार्यक्रम संयोजक तथा वडाध्यक्ष प्रदीप खनालले जानकारी दिए ।

Advertisement

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा भएको मेला २ हजार बढी युवा तथा विद्यार्थीले अवलोकन गरेका छन् । मेला उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर रानाले तानसेन नगरभित्रका जनशक्तिलाई उद्योग, व्यवसाय, ढाका, करवा, पर्यट, होटल, व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने मेला प्रभावकारी बन्नुपर्नेमा जोड दिए ।

Advertisement

पछिल्ला वर्षमा नेपालका बेरोजगार युवा कामको खोजीमा विदेश जाने र नेपाली उद्योगी, व्यवसायीले अन्यत्रबाट कामदार ल्याउनु पर्ने अवस्था रहेकाले यसमा समन्वय गर्न मेला सहयोग भएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । मेलामा विद्यार्थी तथा युवाहरुले वृत्ति परामर्शको सेवा लिएका थिए भने रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदतालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याएको आयोजक तानसेन नगरपालिकाको दाबी छ ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइएको थियो भने सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइएको छ । रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष सम्पर्क भएको छ । तानसेन नगरपालिकाका अनुसार १ हजार ५ सय ६० युवा वैदेशिक रोजगारबाट फर्किएका छन् । त्यसमध्ये ५० प्रतिशत बढी स्वरोजगार भएका छन् । कतिपय पुनः विदेश फर्किएका छन् ।