June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

बजेट अभावले सिंचाई आयोजनाको काम रोकियो

बर्दिया– राष्ट्रिय गौरवको बबई सिंचाई आयोजना चालु आर्थिक वर्षमा पु‘जीगत बजेटको अभावमा एक महिनादेखि निर्माण रोकिएको छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकेको हो । निर्माण व्यवसायीले रनिङ बिल पेश गरे पनि करिब ३५ करोड रुपैयाँ भुक्तानी दिन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ । चालु आवमा १ अर्व ५२ करोड ८४ लाख बजेट विनोयोजित भएकोमा संशोधित बजेट घटेर १ अर्व ३४ करोड ८४ लाख मात्रै आएको छ ।

Advertisement

बजेटको अभावमा पूर्वी नहर प्रणाली अन्तर्गत हुलाकी सडकदेखि दक्षिण तर्फको विस्तार कार्य रोकिएको छ । आयोजना निमित्त प्रमुख रामकृष्ण घोरासैनीले पश्चिम नहर प्रणाली अन्तर्गत मधुवन र ठाकुरबाबा नगरपालिका भित्रका विभिन्न कमाण्ड क्षेत्र विस्तार तथा नहर सुद्दीढीकरणको काम रोकिएको बताए । ‘बबई नदीको दाँया र बाँया किनारामा निर्माणाधिन नियन्त्रण सम्बन्धी कार्य रोकिएको छ,’ उनले भने, ‘आव ०८२–०८३ मा सम्पन्न पर्ने आयोजनाको बजेट कटौति हुँदै जाँदा कहिले सम्पन्न हुने हो निश्चित छैन ।’

Advertisement

आयोजनाको सिलिङ दायित्व नै भुक्तानी अपुग हुँदा नयाँ ठेक्का व्यवस्थापनमा चुनौति थपिएको छ । बजेट अभावमा पूर्वी क्षेत्रको हुलाकी सडक भन्दा दक्षिणतर्फ झण्डै ३ हजार ५ सय हेक्टर क्षेत्रफल कमाण्ड क्षेत्र विस्तार कार्य, पश्चिमतर्फ गुलरियाको विस्तार कार्य लगायत अत्यावश्यक नदी नियन्त्रणका काम ओझेलमा परेको छ । यसै गरि पश्चिम तर्फको नहर विस्तारका लागि आवश्यक पर्ने करिब १ सय १० हेक्टर जग्गा प्राप्तिका लागि बजेट उपलब्ध नहुने भएको आयोजनाले जनाएको छ ।

पूर्वतर्फको २१ हजार हेक्टर र पूर्वतर्फ १५ हजार हेक्टर क्षेत्रफल कृषि योग्य जमिनमा सिंचाई पुर्याउने उद्देश्यका साथ ०५१ सालदेखि काम शुरु भएको हो । बबई सिंचाई आयोजना अन्तर्गत पूर्वी मूल नहर ३४ किमी सम्पन्न भएको छ । पश्चिमी नहर ४३ किमी निर्माण गर्ने लक्ष्य छ । हालसम्म २८ किमी पश्चिम मूल नहर निर्माण भई सकेको छ । आयोजनाको काम सम्पन्न गर्न सरकारले कुल १८ अर्व ९६ करोड ३० लाख रकम स्वीकृत गरि पनि बजेट कटौतीले समयमा सम्पन्न नहुने भएको छ ।

मूल नहर र तटबन्धको सम्पूर्ण काम सम्पन्न हुन पॉच वर्ष लाग्ने भएको छ । जग्गा अधिग्रहण र मुआब्जाका विवादले पूर्वी मूल नहरले गति लिन ढिला सुस्ती भएको हो । विवाद समाधान भएपछि कामले तिब्रता पाएको आयोजनाले जनाएको छ । कोभिडका कारण देखाउँदै ठेकेदार कम्पनीको ढिलासुस्तीले निर्माणको काम सुस्त भएको हो । अहिले कामले गति लिएकोले समय भित्र पूर्वी नहर सम्पन्न हुने दाबी आयोजनाका निमित्त प्रमुख घोरासैनीको छ । पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्मको लम्बाई ४३ किमी छ । आव ०८२–०८३ सम्म उक्त मूल नहर लगायत शाखा, प्रशाखा लगायत संरचना बनाई सक्ने लक्ष्य रहेको उनले जनाए । तर, बजेट अभावले प्रभावित हुने देखिन्छ ।