लुम्बिनीमा मन्त्रालय थप्ने तयारी, राज्यकोषमा करोडौं भार पर्ने


दाङ– सरकारमा सहभागी दल र ती दलमा आबद्ध प्रदेशसभा सदस्यको मन्त्री बन्ने होडले लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी गरिएको छ । मुलुक आर्थिक संकटतर्फ धकेलिँदैछ । यस्तो बेला सानो मन्त्रीमण्डल बनाएर खर्च कटौती गर्नुपर्ने बेला लुम्बिनी सरकारले भने मन्त्रालय थपेर राज्यकोषमा करोडौं भार पार्ने बाटोमा लागेको छ ।
करिब दुई हप्ता अघि मुख्यमन्त्री नियुक्त भएका काँग्रेसका डिल्लीबहादुर चौधरीले सबै दललाई समेट्न भन्दै मन्त्रालय संख्या थप्न लागेका हुन् । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दशवटा मन्त्रालय छन् । यी मन्त्रालय थपेर १२ देखि १३ वटा सम्म पुर्याउन मुख्यमन्त्री लागिपरेका छन् । सरकारलाई आठ दलको समर्थन छ । यी सबै दलबाट मन्त्री हुन चाहानेको लर्को छ । आकांक्षी व्यवस्थापन गर्न मन्त्रालय थप्ने तयारी पछि सरकारको आलोचना सुरु भएको छ ।
गठबन्धनभित्र मन्त्रालय थप्ने विषयमा सहमति पनि जुटिसकेको बुझिएको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने बताइएको छ । यही बुधबार सरकारलाई पूर्णता दिने र विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिने तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । अघिल्लो एमाले नेतृत्व सरकारले मन्त्रालयको संख्या घटाएर १० पुर्याएको थियो ।
सरकारमा सहभागी माओवादी केन्द्रले तीनवटा मन्त्रालय पाउने सहमती भएको छ । अन्य साना दललाई एक–एक मन्त्रालय दिएर भाग पुर्याउने सहमति भएको मुख्यमन्त्री निकट एक नेताले बताए । दि तीन वटा मन्त्रालय थपेमा वार्षिक ५ देखि ७ करोड रुपैयाँ राज्यकोषमा भार पर्ने बताइन्छ । दलहरुमा भागबन्डा नपुगेकै कारण अहिले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रालय थप पछि मात्रै भागबण्डा पुग्ने भएकाले सत्ताघटको ध्यान अहिले यसैमा केन्द्रित छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले केही मन्त्रालय थप गर्ने तयारी भएको जनाए । ‘सबै दललाई मिलाउन पनि मुख्यमन्त्रीले मन्त्रालय थप्न लाग्नुभएको हो’, उनले भने, ‘अब केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ । लुम्बिनी अहिले तीन विनाविभागी मन्त्री छन् ।
राजनीतिक समीकरण बदलिएसँगैै एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको सरकार ढलेपनि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ मा मुख्यन्त्री नियुक्त भएका थिए । उनले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री विनाविभागी मन्त्री बनाएका छन् ।








प्रतिकृया दिनुहोस्