June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभाव

भैरहवा– मुलुकको पुरानो औद्योगिक क्षेत्र मध्येको बुटवलमा जग्गा अभाव भएको छ । लामो समयदेखि औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले स्थान अभाव भएको जनाए पनि व्यवस्थापनले सुनुवाई गरेको छैन । जग्गा नहुँदा अहिले सञ्चालनमा रहेका उद्योगका उत्पादन बाटोमा भण्डारण गर्नु परिरहेको छ ।

Advertisement

औद्योगिक क्षेत्र भित्र रहेको लिटमस् केवल इण्डष्ट्रिजले आफ्ना उत्पादन सडक किनारमा राख्न बाध्य रहेको जनाएको छ । भण्डारणका लागि स्थान नहुँदा उत्पादन कटौती गर्नुपर्ने समस्या रहेको उक्त उद्योगले जनाएको छ । बुटवलमा ४७ वर्ष अघि स्थापना भएको औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालन सम्भव छैन । यसको विकल्पका रुपमा बुटवलकै मोतिपुरमा औद्योगिक क्षेत्र स्थापनाको काम भइरहेको छ ।

Advertisement

मोतिपुरमा कामले गति नलिँदा उद्योगी निरास छन् । ‘बुटवल औद्योगिक क्षेत्रमा जग्गा छैन,’ एक उद्योगीले भने, ‘नयाँ औद्योगिक क्षेत्रको काम अगाडि बढेको छैन ।’ बुटवल –१० मा रहेको औद्योगिक क्षेत्र ४ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये ३ सय ७२ दशमलव ५५ रोपनी जग्गामा उद्योग रहेका छन् ।

औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले सरकारकै स्वामित्व रहेको औद्योगिक क्षेत्रभित्र रहेका उद्योगबाट भाडा अशुलेर सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मार्फत आम्दानी गरिरहेको बताए । अहिले उद्योगले तिर्दै आएको भाडादर वृद्धि गरी ७ सय प्रतिशतसम्म पुर्याएको उनले बताए ।

भट्टराईका अनुसार औद्योगिक क्षेत्र स्थापना कालमा सञ्चालन भएका केही जीर्ण भवनमा चलिरहेका छन् । अहिले पूर्ण क्षमतामा उद्योग चलाउने वातावरण छैन । ‘आर्थिक मन्दीले गर्दा उद्योग धरासायी छन्,’ उनले भने, ‘मजदुर, कर्मचारी कटौती गरिएको छ ।’ औद्योगिक क्षेत्रमा रहेका ७२ उद्योग रहेको उनले बताए । ‘अहिले ६७ मात्र गतिशिल छन्’, उनले भने, ‘सबैमा कर्मचारी घट्यो, उत्पादन घट्यो, बजार साँगुरियो, पैसा उठ्न सकेको छैन ।’