कानुनी अड्चनले पुल निर्माणमा ढिलाई


बर्दिया– करिब ६ वर्ष अघि हस्तान्तरण नहुँदै भाँसिएको पुल अहिले आएर कानुनी अड्चनले पुनःनिर्माणमा ढिलासुस्ती भएको छ । डिभिजन सडक कार्यालयले बर्दियाको जब्दीघाट स्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भाँसिएको करिब ५ वर्ष पछि ठेक्का तोडेको थियो ।
पप्पु कन्स्ट्रशनले निर्माण गरेकोे पुल ०७४ साल साउन २८ गते भाँसिएपछिे गत वर्ष जेठमा पुनःनिर्माणको थालिनी गर्यो । वर्षायाम शुरु भएपछि ०७९ असोज २० गते बाढीले भाँसिएको पिलरसहित स्लेप बगाएपछि पूर्णरुपमा आउजाउ बन्द छ । त्यसपछि ठेकेदार कम्पनीले पुनः निर्माणमा चासो नदिएपछि सडक कार्यालयले ठेक्का ताडेर नयॉ पुल बनाउन इस्टिमेट भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा बुझाएको थियो ।
८६ करोड लागतको करिब ४ सय मिटर लम्बाई रहने नयाँ पुलको इष्टिमेट समेत तयार भए पनि कानुनी अड्चनले ठेक्का अघि बढ्न सकेको छैन । निर्माण व्यवसायीले करिब चार महिना अघि उच्च अदालत पाटनमा पुनःनिर्माणको काम गर्दा गर्दै ठेक्का तोडेको भन्दै कानुनी उपचारका लागि मुद्दा दायर गरेको डिभिजन सडक कार्यालय, नेपालगन्जले जनाएको छ ।
डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले उच्च अदालतले स्टे आदेश जारी नगरे पनि महान्याधिवक्ता कार्यालयसँग यस वारे राय सल्लाह लिने काम भइरहेको बताए ।‘ पुल निर्माणका लागि नयॉ प्रक्रियामा जान माथिका कर्मचारी डराई रहेका छन्,’ उनले भने’, महान्याधिवक्ता कार्यालयबाट राय सल्लाह आउन साथ पुल निर्माण प्रक्रिया अघि बढाउने छौं ।’
पुल भाँसिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनीका सञ्चालक हरी नारायण रौनियार, उनका छोरा सुमित, तत्कालीन सडक डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख राजेश यादव, हरीबहादुर खड्कासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ति मध्ये चार जना बाहेकका कर्मचारीलाई निलम्बन गरि बिगोसहित सजायको फैसला गरेको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ ।
विशेष अदालतबाट सजाय पाएका निर्माण व्यवसायी रौनियारसहित कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेकोले अन्तिम टुंगो लागेको छैन । नयॉ पुल निर्माण प्रक्रिया अघि बढ्नासाथ मुद्दा फितोलो हुने आशंका निर्माण व्यवसायी र निलम्बित कर्मचारीको रहेको डिभिजन कार्यालय स्रोतको छ ।
यस सम्बन्धमा निर्माण व्यवसायी रौनियारले पुल निर्माण नगर्न दबाब दिएको कुरामा सत्यता नरहेको बताए । ‘हामीले नौ महिना अघि भाँसिएको पुल पुनः निर्माणका लागि दुई वटा पिलरको जग (पायल) तयार गरिसकेका थियौ,’ उनले भने, ‘बाढीले पुलको छत बगाए पनि अहिले पनि राज्यले पुनःनिर्माण गर्न आदेश दिन्छ भने काम गर्न तयार छौं ।’
तीन महिना भित्र बगाएको पुल तयार गरि हस्तान्तरण गर्न सक्ने उनले दाबी गरे । पप्पु निर्माण कम्पनीले करिब दश वर्ष अघि निर्माण शुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा ०७४ सालमा सम्पन्न गरेको थियो । पुल बगाएपछि करिब ६ वर्ष देखि सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाबीच सडक सम्पर्क विच्छेद छ ।








प्रतिकृया दिनुहोस्