July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

आज उम्मेदवारी फिर्ता लिन सकिने

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ। आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज साँझ ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको हो।

Advertisement

यस्तै, आजै साँझ ५ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

Advertisement

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। जसअन्तर्गत एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।

आयोगले बिहीबार साँझ दर्ता भएका ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ।

यस्तै, अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ।

यही वैशाख १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।