July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

काँग्रेस रूपन्देहीमा सबै पदमा सर्वसम्मत

भैरहवा–नेपाली काँग्रेस रुपन्देहीमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन अधिकृत भेषराज घिमिरेकाअनुसार सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पार्टी जिल्ला सचिव थिए । उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइसमेत हुन् ।

Advertisement

यस्तै, उपसभापतिमा डा.अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे, सचिवमा हरि काफ्ले र परमान्द भट्टराई तथा सह–सचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका छन् । शाह नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहकी श्रीमती हुन् ।

Advertisement

निर्विरोध निर्वाचित भएपछि सभापति खाँणले आउने दिनमा काँग्रेलाई गतिशिल बनाउँदै लैजाने बताए । उनले आउने तीन तहका निर्वाचनमा काँग्रेलाई जिताउने बताए । ‘सबै नेताकार्यकर्ताको भावना जोडेर अघि बढ्छु’, उनले भने, ‘आउँदा निर्वाचनमा सबै तहमा पार्टीलाई जिताउने गरी काम गर्नेछु ।’

काँग्रेस केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, काँग्रेस नेता एवं प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, सांसद प्रमोदकुमार यादव, प्रदेशसभा सदस्य अष्टभुजा पाठक, जिल्ला सभापति अब्दुल रज्जाक, पूर्वसभापति रामचन्द्र ढकालले चार दिनदेखि सहमतिका लागि प्रयास गरेका थिए । नेताहरुको लामो प्रयासपछि अन्ततः सबै पद सर्वसम्मत भएको हो ।

जिल्लासँगै केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार र प्रदेश महाधिवेशन प्रतिनिधि पदका उम्मेदवारहरु पनि सर्वसम्मत चयन भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देहीमा सम्पन्न क्षेत्रीय अधिवेशनहरूमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कुटाकुटको अवस्था सृजना भएपछि सबैको ध्यान रूपन्देही नेतृत्वतर्फ केन्द्रित भएको थियो ।