July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी

भैरहवा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन् । शनिबार भैरावामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले आफूलाई संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर ओलीले अघि बढेको बताए ।

Advertisement

‘ओली प्रवृत्तिकै कारण आज कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको छ’, उनले भने, ‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिष्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ ।’ एमालेमा ओलीलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेको बताउँदै विश्वासीले यसले कम्युनिष्टहरु बलियो नहुने र झनपछि झन खुम्चिने जनाए ।

Advertisement

कम्युनिष्ट पार्टीमा व्यक्ति नभई संगठन, विचार र सिद्धान्त प्रधान हुने उनले जनाए । ‘समाजवादी विचार र सिद्धान्तमा निर्माण भएको पार्टी हो’, उनले भने, ‘यसलाई जनतामाझ लगेर झनै बलियो र एक नम्बर पार्टी बनाउनुपर्छ ।’ पछिल्लो समय समाजवादीमा युवापुस्ता, सबै वर्ग, क्षेत्र र समुदायको आकर्षण बढेको जनाउँदै सचिव विश्वासीले सबैको भरोसायोग्य पार्टी बनाउने दावी गरे ।

पार्टीका केन्द्रिय सल्लाहकार एवं संविधान सभा सदस्य आदित्यनारायण कसौधनले वास्तविक कम्युनिष्ट पार्टी समाजवादी भएको जनाए । उनले पार्टीका नीति, सिद्धान्त र विचार बोकेर जनतामाझ जानुपर्ने र समाजवादीलाई बलियो बनाउनुपर्ने बताए । प्रदेश कमिटी सचिव एवं रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले नवौं राष्ट्रिय महाधिवेशनपछि निर्वाचित एमाले नेतृत्वले कम्युनिष्ट आन्दोलनलाई छियाछिया पारेको आरोप लगाए ।

‘यसैले समाजवादी गठन गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएका हौं’, उनले भने, ‘समाजवादीले जुन खालको एजेन्डा, विचार र दृष्टिकोण बोकेका छ, यसले कम्युनिष्ट आन्दोलनलाई जोगाउने मात्र होइन पुनरुत्थान गर्छ ।’ समाजवादीले युवा, महिला तथा श्रमजीवी र सबै क्षेत्रको प्रतिनिधित्व गर्ने र आम नागरिकको आवाज बोक्ने उनले दावी गरे । उनले पछिल्लोपटक एमालेमा बा प्रवृत्तिको समृद्धि आएको टिप्पणीसमेत गरे ।

समाजवादी रोजेर आफूहरु सही ठाउँमा भएको र सढी ढंगले अघि बढेको उनले बताए । ‘रुपन्देहीको कम्युनिष्ट आन्दोलन रक्षा गर्न र युवाका सपना साकार पार्न पनि सबै समाजवादीमा गोलबन्ध हुनुपर्छ’, उनले भने । पार्टी केन्द्रिय कमिटी सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले समाजवादीले व्यक्तिलाई प्रमुख नठान्ने बताउँदै आफूहरुले सिद्धान्त, नीति, नियम, कानून, संविधान मान्ने बताइन् ।

‘यसैले हामी कम्युनिष्ट आन्दोलनमा लागेर समाजवादी पार्टी छानेका हौं’, उनले भनिन्, ‘हाम्रा, विचार, सिद्धान्त, नीति सबै सही छन्, अब आम जनतामाझ गएर यसलाई स्थापित गर्नुपर्छ ।’ कार्यक्रममा पार्टी नेताहरु श्रीराम यादव, अविराम रसाइली, सरिता श्रीस, रामबहादुर बस्ननेत लगायतले बोल्दै कम्युनिष्ट आन्दोलनलाई बाचर्य राख्न समाजवादीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

युवा संघ गठन
यसैबीच नगर भेलाले ५१ सदस्यीय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी गठन गरेको छ । नितेश जानन्धरको अध्यक्षतामा युवा संघ नगर कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्ण कुँवर, बसन्त क्षेत्री, विवेक थापा छन् । यस्तै, सचिवमा विनम्र थापा क्षेत्री, कोषाध्यक्षमा समिर पन्थ, सह–सचिवमा प्रतीक क्षेत्री, अब्दुल हफिज र सुमित तुलाधर छन् ।

पिपुल्स भोलियन्टर गठन
यस्तै, युवाको नगर भेलाले गम्भीरजंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय पिपुल्स भोलियन्टर गठन गरेको छ । जसको सचिवमा चिश्चल गुरुङ छन् ।