तिहारसम्म कांग्रेस वडा अधिवेशन सकिनेमै शंका


नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गएको भदौ २५ गते १४औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्दै विज्ञप्ति जारी गर्यो । समिति संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी तालिका हेरफेर गरिएको जानकारी गराइएको थियो ।
२० जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहँदा निर्वाचन समितिले तालिका संशोधन गरेको थियो । कार्यतालिका संशोधन भएको दुई महिना बित्न लाग्दा समेत १३ जिल्लामा वडा अधिवेशन हुनसकेको छैन । प्रदेश नम्बर–२ मा त सबै आठै जिल्लामा अधिवेशन भएको छैन ।
असोज ७ गते संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले दसैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहको अधिवेशन र बाँकी रहेका १३ जिल्लामा पालिका तहसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गर्यो । तर, १२ हिमाली जिल्लामा मात्र जिल्ला तहको अधिवेशन सम्पन्न भयो ।
भदौ २५ गतेको संशोधित कार्यतालिका बमोजिम असोज १८ सम्ममा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन सम्पन्न हुनुपर्ने थियो । दसैँअघि नै ७७ जिल्लामा जिल्ला तहको अधिवेशन सम्पन्न भइसकेर यति बेला पार्टी प्रदेश अधिवेशनको चटारोमा हुनुपर्ने हो । तर, चार जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद नै टुंगोमा पुग्न सकेको छैन ।
नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको क्रियाशील विवाद समाधान कार्यदलको बैठक नबसेको निकै समय बितिसकेको छ । सत्ताको नेतृत्वकर्ता दल भएका कारणले कांग्रेस योबीचमा मन्त्रिपरिषद् विस्तारको चटारोमा पर्यो । कार्यदल सदस्य डा. मीनेन्द्र रिजाल रक्षा मन्त्रालयको जिम्मेवारी लिएर सिंहदरवार प्रवेश गरे । कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बस्न सकेको छैन । कार्यदल सदस्यहरू जीवन परियार र प्रदीप पौडेल कोरोना संक्रमित भए । त्यसकारण पनि बाँकी रहेका चार जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न असहज भएको हो ।
रसुवा, सप्तरी, रौतहट र बारा जिल्लामा क्रियाशील विवाद समाधान गर्न भोलि (बुधबार) क्रियाशील विवाद समाधान समितिको बैठक बस्ने तयारी छ । दसैँ सकेर नेता कृष्ण सिटौला झापाबाट काठमाडौं आएपछि बैठक बसेर चार जिल्लाको विवाद समाधान गर्ने तयारी छ । नेता रामचन्द्र पौडेलले पनि कार्यदलमा रहेका सदस्यहरूलाई चाँडै बैठक बसेर क्रियाशील विवाद टुंगोमा पुर्याउन सुझाव दिएका छन् ।कार्यदल सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार दुई/चार दिनभित्रै विवादलाई समाधान गर्ने विषयमा संवाद भइरहेको बताउँछन् ।
“कृष्ण दाइ (सिटौला) काठमाडौं आएपछि बैठक बस्छौँ र चार जिल्लाको विवाद केही दिनभित्रै टुंगोमा पुर्याउँछौँ,” उनले भने ।
तिहारअघि १३ जिल्लाको अधिवेशन गर्ने तयारी
प्रदेश–२ का आठ जिल्लासहित वडा तहकै अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा तिहारअघि अधिवेशन गर्ने तयारी भइरहेको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिले पनि चार जिल्लाको क्रियाशील सूची पाए वडा तहसम्मको अधिवेशन गर्ने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ ।
समितिले थप विषयमा छलफल गर्नका लागि बिहीबार बैठक बस्ने तयारी गरेको छ । समिति संयोजक महादेवप्रसाद यादव अधिवेशनको विषयमा छलफल गर्न बिहीबार बैठक बस्ने बताउँछन् ।
“अहिले यसै भन्ने स्थिति छैन, । दसैँ–तिहारको बीचमा अधिवेशन कहाँ गर्ने वा नगर्ने भन्ने विषयमा समितिको बैठक बसेर मात्र भन्न सकिएला,” उनले भने ।
क्रियाशील विवाद समाधान सहमति कार्यान्वयन कार्यदल भने दसैँ–तिहारको बीचमा १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन सकाउने गरी काम गरिरहेको दाबी गर्छ । कार्यदल सदस्य परियारले अधिवेशन गराउने गरी काम भइरहेको बताए ।
यी जिल्लाहरूमा फर्जी क्रियाशीलको विवाद बढी छ । यस्तै, तहगत संरचनाबाट क्रियाशील वितरण नभएको, वडाले गरेको निर्णयविपरीत नेतृत्वले मनपरी क्रियाशील बाँडेकोलगायत गुनासोहरू छन् । “क्रियाशील टुंगो लगाउन सके १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन दसैँ–तिहारको बीचमा हुन्छ,” परियारले भने ।
निर्वाचन समितिले पनि १२ जिल्लामा एकसाथ जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्णय गर्दै क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेको छ । समिति सदस्य गोपालकृष्ण घिमिरे अधिवेशन कहिले गर्ने प्रश्न निर्वाचन समितिलाई भन्दा पनि पार्टीलाई सोध्नुपर्ने तर्क गर्छन् । “हामी त उहाँहरूले प्रदान गर्ने क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेका छौँ, नेतृत्वले हामीलाई सूची दिएकै छैन,” घिमिरे भन्छन्, “खै हामीले अधिवेशन हुन्छ/हुँदैन भनेर कसरी भन्ने ।”
अधिवेशनको विषयमा केही दिनभित्र बैठक बसेर छलफल गरिँदै छ । पूर्व र वर्तमान पदाधिकारीहरू तथा प्रभावशाली नेताहरू बसेर अधिवेशनको मिति सम्बन्धमा निर्णय गर्ने तयारी गरेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत बाँकी रहेका जिल्ला र वडा तहकै अधिवेशन हुन नसकेका जिल्लाहरूको बारेमा निर्णय गर्न केही दिनभित्र बैठक बस्ने बताउँछन् ।
“अधिवेशनका यो गर्ने/नगर्ने, कहिले गर्ने भन्ने विषमया बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ, हामी चाँडै बैठक बसेर निचोडमा पुग्छौँ,” उनले भने ।








प्रतिकृया दिनुहोस्