August 21, 2026, Friday
२०८३ भाद्र ५ शुक्रबार

सीमित स्रोतसाधनबीच भीम अस्पतालमा आधुनिक विशेषज्ञ सेवा विस्तारको तयारी

Advertisement

भैरहवा–स्थापनाको नौ दशक पूरा गरेको रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पतालले सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि उपचार सेवालाई थप आधुनिक, गुणस्तरीय र प्रभावकारी बनाउने तयारी गरेको छ । अस्पतालले आगामी आर्थिक वर्ष २०८३–०८४ मा मुटु, दन्त, प्रयोगशाला, शल्यक्रिया र बाल उपचारतर्फ आधुनिक प्रविधिसहित विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।

Advertisement

शुक्रबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा अस्पतालले आर्थिक वर्ष २०८२–०८३ मा सञ्चालन गरेका सेवा तथा आगामी वर्षका योजनाबारे जानकारी दिँदै मुटुको भल्भलगायत मुटुसम्बन्धी समस्या परीक्षणका लागि इको सेवा, दन्त उपचारमा ओपीजी, दूरबिन प्रविधिबाट शल्यक्रिया तथा बालबालिकाको उपचारका लागि एनआईसीयू स्थापना गर्ने योजना सार्वजनिक गरेको हो । शल्यक्रिया थप गर्ने पनि अस्पतालको तयारी छ ।

अस्पतालका अनुसार बिरामीलाई सेवा लिन सहज बनाउने उद्देश्यले अनलाइन टिकट प्रणाली, प्रयोगशाला परीक्षणको रिपोर्ट लिन लामो समय लाइनमा बस्न नपर्ने गरी स्वचालित प्रिन्ट रिपोर्ट प्रणाली तथा नयाँ पोस्टमार्टम भवन निर्माणको योजना पनि अघि सारिएको छ ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट वर्षा थापाले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइन् । उनले आगामी दिनमा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विशेषज्ञ सेवा थप गर्ने योजना रहेको जानकारी दिइन् ।

‘अस्पतालबाट प्रदान गरिने उपचार सेवाहरूलाई अझ प्रभावकारी र गुणस्तरीय बनाइनेछ,’ उनले भनिन्, ‘यसका लागि अस्पतालमा विभिन्न उपकरणसहित विशेषज्ञ सेवा थप गरिनेछ र सबैको सल्लाह तथा परामर्श लिएर सहकार्य गर्दै अस्पताल अघि बढ्नेछ ।’ उनका अनुसार अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति र स्रोतसाधनको अभाव रहे पनि उपलब्ध जनशक्ति तथा साधनको प्रभावकारी व्यवस्थापनमार्फत सेवा सञ्चालन हुँदै आएको छ ।

अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–०८३ मा ओपीडी सेवामार्फत २ लाख ६४ हजार ५३१ जनाले उपचार सेवा लिएका थिए । इमर्जेन्सी सेवामार्फत ४७ हजार ८११ जनाले उपचार सेवा लिएका छन् ।

वि.सं. १९९० सालमा तीन शय्याबाट स्थापना भएको भीम अस्पताल अहिले सरकारी स्तरबाट स्वीकृत ५० शय्याको अस्पतालका रूपमा सञ्चालनमा छ । अस्पताल विकास समितिले थप ५० शय्या व्यवस्थापन गरी आवश्यक जनशक्ति र आर्थिक स्रोत जुटाउँदै आएको छ ।

तर सरकारी स्वीकृत शय्या र त्यसअनुसारको उपलब्ध गराइएको जनशक्ति लामो समयदेखि अपुग रहँदै आए पनि सरकारले आवश्यक दरबन्दी थप नगर्दा अस्पतालमा जनशक्तिको अभाव भएको भएको हो । हाल मेडिकल सुपरिटेन्डेन्टसहित २५ जना चिकित्सक र कुल १४२ जना कर्मचारी कार्यरत छन् । रेडियोलोजिस्टको अभाव रहेको यो अस्पताल केही महिनादेखि सर्जनविहीन अवस्थामा रहेकोे छ ।

भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त शर्माले विभिन्न कार्यकालका सरकारबाट अस्पताल उपेक्षामा पर्दै आएको गुनासो गरे । ‘सँगसँगै स्थापना भएका अन्य अस्पताल २ सय भन्दा बढी बेडकोमा स्तरोन्नति भइसके’ उनले भने, ‘तर यो अस्पताल जहिले पनि उपेक्षामा परेको छ । सीमित साधन र स्रोतका बाबजुद पनि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।’

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँले अस्पतालको इमर्जेन्सी विभागको काम बिरामीलाई अन्यत्र रेफर गर्नेमै सीमित हुन नहुने बताए । अस्पतालमा कार्यरत सबै कर्मचारीमा सेवाभाव र बिरामीप्रति मानवीय संवेदना आवश्यक रहेको उनको भनाइ थियो । ‘अस्पतालमा कार्यरत सबैमा सेवाको भाव र बिरामीप्रति माया हुन जरुरी छ’ उनले भने, ‘सबैले सेवाको भावनाले काम गर्नुपर्छ ।’

अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले गत आर्थिक वर्षमा अस्पतालबाट प्रदान गरिएका सेवाको विवरण प्रस्तुत गर्दै प्रदेश सरकार, अस्पताल विकास समिति र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा आधुनिक प्रविधिसहित थप विशेषज्ञ सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।