क्षेत्राधिकारभित्रै रहेर काम गरौँ, आन्तरिक कुरा बाहिर नल्याऔँः बुर्लाकोटी


भैरहवा– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा आयोजित समितिको बैठकमा बोल्दै उनले समितिका दस्ताबेजहरूको अध्ययन, कानुनी विश्लेषण र आन्तरिक प्रक्रियालाई सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका हुन्।
प्रमुख सचेतक बुर्लाकोटीले समितिका छलफलहरू पारदर्शी हुनुपर्ने भए पनि निर्णय प्रक्रियामा पुग्नुअघिका कतिपय प्राविधिक र आन्तरिक विषयहरूलाई बाहिर लैजाँदा ध्यान दिनुपर्ने बताए। सदस्यहरूले दस्तावेजको अध्ययन गरे वा नगरेको जस्ता विषयहरू स्वयं सदस्यको जिम्मेवारी भएको र यस्ता विवरणहरू सभापतिमार्फत सार्वजनिक गरिनु आवश्यक नभएको उनको तर्क छ।
बैठकमा समितिमा प्राप्त हुने उजुरीहरूको सन्दर्भमा बोल्दै बुर्लाकोटीले सबै प्रकारका उजुरीमाथि छलफल गर्ने क्षेत्राधिकार सुनुवाइ समितिसँग नरहेको स्पष्ट पारे। नियमित रूपमा सूचनाको हक प्रयोग गर्ने र उजुरी दिने प्रवृत्तिलाई नजरअन्दाज गर्न नमिल्ने भए पनि क्षेत्राधिकारभन्दा बाहिरका उजुरीहरूलाई सम्बन्धित निकायमा पठाउनुपर्ने उनले सुझाव दिए।
‘समितिले गर्ने अध्ययन, परीक्षण र कानुनी विश्लेषणका आधारमा अन्तिम निष्कर्ष निकाल्नुपर्छ,’ उनले भने, ‘यस्ता कतिपय विषयमा कानुनी पक्ष समेत जोडिने भएकाले हामी संवेदनशील हुनुपर्छ।’
आफ्नो क्षेत्राधिकार बाहिरका उजुरीलाई सम्बन्धित ठाउँमा पठाउनुपर्नेमा जोड दिँदै उनले थपे, ‘हाम्रो समितिमा प्राप्त भएका उजुरीहरूको प्रकृति हेरी गृह मन्त्रालय वा संसद्को सम्बन्धित समितिमा आवश्यक छानबिन र कार्यान्वयनका लागि पठाउनु उपयुक्त हुन्छ। आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा छलफल गर्दा हामी न कुनै निष्कर्षमा पुग्न सक्छौँ, न त ठोस निर्देशन नै दिन सक्छौँ। त्यसैले यस्ता विषयलाई प्रक्रियागत रूपमा अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ।’
उनले समितिको समय र गरिमाको रक्षा गर्दै क्षेत्राधिकारभित्र रहेर मात्र कार्यसम्पादन गर्न समितिको ध्यानाकर्षण गराएका छन्।








प्रतिकृया दिनुहोस्