August 20, 2026, Thursday
२०८३ भाद्र ४ बिहीबार

जसपा लुम्बिनीमा एमाले हाबी भएको भन्दै केन्द्रसम्म असन्तुष्टि

Advertisement

भैरहवा– जनता सामाजबादी पार्टी (जसपा) नेपालको लुम्बिनी समितिमाथि एमाले हाबी भएपछि त्यसको असर पार्टीको केन्द्रीय तहसम्म पुगेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जसपा नेपालका प्रदेश सभा सदस्य भण्डारीलाल अहिरलाई मन्त्री बनाएपछि असन्तुष्टि चुलिएको हो ।

Advertisement

पार्टीको आधिकारिक निर्णय विनै अहिरलाई मन्त्री बनाइएको भन्दै जसपा नेपालले आपत्ती जनाएको छ । एमाले हाबी भएका कारण आफ्ना प्रदेश सभा सदस्यले दलको अनुशासन कायम गर्न नसेकेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । आफ्ना सांसदलाई एमाले नेतृत्वको सरकारमा सहभागी गराइएको विषयमा यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसित प्रश्न गरेका छन् ।

जसपा नेपालको केन्द्रीयस्तरको निर्देशन अवज्ञा गर्दै पार्टीका लुम्बिनी प्रदेश सभा सदस्यले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएका थिए । जसपा नेपालका महासचिव डा.सुरेन्द्र झाका अनुसार एमाले अध्यक्ष ओलीसँगको भेटमा जसपा नेपालका अध्यक्ष यादवले यसबारे चासो राखेका हुन् । एमाले अध्यक्ष ओली र यादवबीच भएको राजनीतिक भेटघाटमा देशको राष्ट्रिय राजनीति, मधेस प्रदेश सरकार, लुम्बिनी प्रदेश सरकार लगायतका विषयमा छलफल थियो ।

लुम्बिनीमा भएको गल्ती एमालेले सच्याएमात्र अन्य प्रदेशका विषयमा छलफल गर्न सकिने भन्दै जसपा नेपालका अध्यक्ष यादवले ओलीलाई यथास्थितिमा सहकार्य असम्भव हुने बताएका थिए । जसपाका केन्द्रीय तहका नेताले एमालेप्रति गुनासो र प्रश्न गरेपनि पार्टीकै लुम्बिनी प्रदेश सभा सदस्य भने आफूहरूले यसबारे औपचारिक बैठक बसेर निर्णय गरेको दावी गरिरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकासमन्त्री रहेका सन्तोषकुमार पाण्डेयले आफूहरूले संसदीय दलको निर्णयबाट सरकारप्रतिको समर्थनलाई निरन्तरता दिएको बताए । ‘हामी पनि जसपा नेपालका नेता हौँ । दुई–दुई पटक चुनाव जितेका छौँ,’ उनले भने, ‘हाम्रो पनि मान प्रतिष्ठा छ । हामी पनि निर्णायक ठाउँमा छौँ । निर्णय गर्ने अधिकार हामीलाई पनि छ । त्यही भएर संसदीय दलको बैठक बसेर सर्वसम्मतिले निर्णय गरी सरकारलाई निरन्तरता दिएका हौँ ।’

जसपा नेपाल प्रदेश सभा संसदीय दलको बैठकले गरेको निर्णय अनुसार सोमबार प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएसकेपछि केन्द्रको पत्र आएको दाबी मन्त्री पाण्डेयले गरे । ‘विश्वासको मत दिइसकेपछि आएको पत्रको कुनै अर्थ रहेन,’ उनले भने, ‘पार्टीको बैठक पनि बसेको थिएन, महासचिवले पत्र पठाउँदैमा त्यसलाई कसरी आधिकारिक मान्ने ?’ आफूहरू सरकारमा रहेकै अवस्थामा गठबन्धन हेरफेर भएको जिकिर गर्दै उनले जसपा नेपाल पुनः सरकारमा गएको नभएर जसपा नेपालसहितको सरकारले निरन्तरता मात्र पाएको प्रस्ट पारे ।

महासचिव झाले पटक–पटक लुम्बिनी प्रदेशमा मन्त्री भएकाबाट जसपा नेपालका कार्यकर्ता तथा पार्टी संगठनले के पाए भन्ने प्रश्न उठाएका छन् । उनीहरूले मधेस आन्दोलनका सहिदलाई सम्मान गर्न एउटा प्रतिष्ठान समेत बनाउन नसकेको टिप्पणी गर्दै महासचिव झाले कांग्रेस र एमालेको नेताको सम्मानमा बजेट विनियोजन गरेको गुनासो गरे ।