रोल्पा पहिरोमा बेपत्ता १० को उद्धारमा कठिनाइ


रोल्पा–रोल्पाको थबाङ–५, कोटलबारा क्षेत्रको पहिरोमा वेपत्ता १० को उद्धारमा कठिनाई भएको छ । उक्त ठाउँमा घर, पसल तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो । भने १० जना अझैं बेपत्ता छन् । प्रहरीका अनुसार पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार राति पौने ८ बजे माथिबाट आएको पहिरोले कमलबहादुर पुन मगरको सहित घर र ढेब्ली गरी करिब ७ परिवार बसोबास गर्दै आएका संरचना पुरिएका छन् । थबाङ–५, का करिब १८ वर्षीया शान्ती पुन मगर र ६७ वर्षीय कमलबहादुर पुन मगर पुरिएको अवस्थामा फेला परेका छन् ।
मृतकका आफन्त तथा स्थानीय स्वास्थ्यकर्मी विमर्श घर्तीमगरले पहिरोमा परेका आफन्त भएको बताए । उनका अनुसार अत्यन्तै अफ्ठ्यारो स्थान भएकाले सबैको उद्धार र उपचार गर्न मुस्किल भइरहेको छ। रातिदेखि उद्धार जारी रहेको र बिहीबार बिहानैदेखि उद्धार थालिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारकालागि सुलैचौरतर्फ पठाइएको छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति साढे ९ बजे स्थानीय इलाका प्रहरी कार्यालय उवा, रोल्पामा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली राति करिब सवा १० बजे घटनास्थल पुगेको थियो । प्रहरी रातभर त्यहाँ खटिएको थियो ।
बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी र स्थानीय परिचालित छन् । थप मानिससमेत पहिरोमा परेको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको रोल्पाका प्रहरी प्रमुख डीएसपी पंचकुमार बाखुले बताए । सदरमुकाम लिवाङदेखि ८० किलोमिटर पूर्वोत्तरमा पहिरो स्थल रहेको छ ।








प्रतिकृया दिनुहोस्