सुस्तामा नेपाली सुरक्षा अधिकारीको निरन्तर निरीक्षण, स्थानीयलाई नागरिकता उपलब्ध गराउन मन्त्रालयको निर्देशन


भैरहवा– वर्षौदेखि विवादित भूमि सुस्तामा बसेर सीमा रक्षा गरे पनि सरकारले नागरिकता बिहीन तुल्याएको भन्दैं स्थानीयले आवाज उठाएपछि गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । दुई साता अघि नागरिकता र भारतीय सुरक्षाकर्मीको थिचोमिचो सहनु परेको भन्दैं सुस्ताका बासिन्दाले काठमाडौंस्थित माइतीघर मण्डलामा पुगेर धर्ना दिएका थिए । त्यसबेला गृहमन्त्रीले उनीहरुसित भेटघाट गरेर माग पूरा गर्ने वाचा गरेका थिए ।
उक्त वाचा अनुसार गत असार १९ गते गृह मन्त्रालयले जिल्ला प्रशासन पश्चिम नवलपरासीलाई पत्र पठाएर सुस्ताका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो । जिल्ला प्रशासनलाई लेखिएको पत्रमा दुईवटा निर्देशन दिइएको छ । मन्त्रालयले पठाएको पत्रको १ नम्बर बुँदामा सुस्ताभित्र सुरक्षाका दृष्टिकोणले संबेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने छ । बुँदा नम्बर २ मा सुस्तामा बसोवास गर्ने धेरै ब्यक्तिको नागरिकता नरहेको गुनासो आएकाले नागरिकता प्राप्त गर्न योग्य व्यक्तिको विवरण संकलन गरेर प्रोफाइल तयार गर्न भनिएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार सुस्ताका बासिन्दालाई नागरिकता प्रदान गर्ने लगायत बिषयमा स्थानीय वडाले काम थालिसकेको जिल्ला प्रशासनले जनाएको छ ।
‘सुस्ताका बासिन्दाले काठमाडौं गएर धर्ना दिनु र सुस्ताका बारेमा माइतीघर मण्डलामा शान्तिपूर्ण जुल्ुश प्रदर्शन गर्नाले हामीलाई एक हिसाबले सहयोग जस्तो भएको छ,’ पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले भने, ‘सरकारले चासो दिएकाले यो राष्ट्रिय प्राथामिकतामा परेको छ र त्यसै अनुसार मैले सहजिकरणको काम गरिरहेको छु ।’ यसका साथै सुस्तामा सुरक्षा निकायको चासो पनि बढेको छ । सुस्ताको बस्तुस्थिति बुझ्न सुरक्षा निकायका बरिष्ठ अधिकारी पुग्न थालेका छन् । एक साताअघि सादा पोशाकमा नेपाली सेनाका बरिष्ठ अधिकारीसहितको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको खुलेको छ ।
सुस्ताको भू्मिलाई लिएर आवाज उठिरहेका बेला नेपाली सेनाको टोली सुस्ता पुगेको थियो । नेपाली सेना पुगेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीले सोधखोज गरेको जिल्लास्थित एक सुरक्षा प्रमुखले बताए । औपचारिक जानकारी बिना सादा पोशाकका नेपाली सैनिक सिमावर्ती बस्तीमा पुगेपछि भारतीय पक्षले सोधखोज गरेका थिए । भारतीय सुरक्षाकर्मीले तपाईंहरु को हो र किन आउनु भएको हो भनेर सोधेका थिए ।
‘पोशाकमा नभए पनि एक सुरक्षाकर्मीले अर्कोलाई नचिन्ने कुरा हुँदैन,’ ती सुरक्षा प्रमुखले भने, ‘सुस्तामा नयाँ मानिस देखेपछि भारतीय सुरक्षाकर्मीले चासो दिएका हुनसक्छन् ।’ गत असार २२ गते नेपाली सेनाका जर्नेल यमबहादुर अधिकारी (प्रतिक्षा) सहितको टोली सुस्ताको स्थलगत निरीक्षणका लागि पुगेको थियो । भारतले उनीहरुको उपस्थितिबारे चासो दिएको हो । नेपाली सेनाको मुख्यालयमा रहेका अधिकारीसहितको टोटी स्थलगत निरीक्षणमा पुगेको थियो । सादा पोशाकमा पुगेर सुस्ताका बासिन्दासित सीमा क्षेत्रबारे बुझेका थिए । ‘सुस्ताको थारु टोलामा पुग्नु भएको हो,’ पश्चिम नवलपरासीस्थित एक सशस्त्र प्रहरी अधिकृतले भने, ‘केही बेर सुस्ताका समस्याबारे बुझेर फर्किनु भएको हो ।’
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मुलुकभर मनसुन र विपतजन्य कस्ता घटना हुन सक्छन् र जोखिमको अवस्था के छ भनेर बुझ्न सेनाको टोली मुभ भएको र त्यही क्रममा सुस्ता पुगेको हुनसक्ने जानकारी दिए । ‘मनसुन र विपद जोखिमको अवस्था बुझ्न टोली मुभ भाको अवस्था छ,’ उनले भने, ‘यही क्रममा उनीहरु पनि घुमेका होलान । मनसुनजन्य जोखिमबारे बुझ्नेबाहेक अरु उद्देश्य केही होइन ।’
विपदबाट बचाउन के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा भ्रमण केन्द्रित रहेको बताए । ‘सुस्तामा विवाद केही भएको होइन्,’ उनले भने, ‘जोखिम कम गर्न के कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने विषयमा हो ।’
जिल्ला प्रशासनले नेपाली सेनाको भ्रमण औपचारिक नरहेको जनाएको छ । औपचारिक रुपमा उक्त टोली सुस्ता नगएकाले अनौपचारिक रुपमा भ्रमणमा को जान्छ, के गर्छ रेकर्ड राख्न सम्भव नभएको प्रशासनले जनाएको छ । एक सुरक्षा अधिकारीका अनुसार नेपाली सेनाले सुस्ता अनुगमनमा जान सक्ने खबर गरे पनि औपचारिक जानकारी गराएको थिएन । एकैपटक सादा पोशाकमा सेनाको टोली पुगेपछि भारतीय सुरक्षाकर्मी पनि आएका थिए । लामो समयदेखि विवादित भूमि सुस्ताका बारेमा अहिले सोधखोज बढेको हो ।
एकपछि अर्को सुरक्षा निकायमा बरिष्ठ अधिकारी सुस्ता पुग्ने क्रम चलिरहेको छ । आइतवार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अन्जनी पोखे्रेलले स्थलगत भ्रमण गरेका हुन् । केही दिनदेखि तराईका जिल्लास्थित सीमा क्षेत्र अवलोकन गरिरहेका पोखरेलको टोली आइतवार दिउँसो तीन बजे सुस्ता पुगेको थियो । अहिले सुस्तामा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयको लगानीकामा तटबन्ध निर्माणको काम भइरहेको छ । निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला डेढ महिनाअघि भारतीय सीमा सुरक्षा बलले अबरोध पुर्याएका थियो । त्यतिबेला भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमै आएर निर्माणको काम रोक्न भनेका थिए ।
सुस्तामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । डेढ महिनाअघि भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अबरोध पुर्याएपछि सशस्त्र प्रहरीले त्यहाँ संख्या बढाएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली रहँदै आएकोमा अहिले ४० पुर्याइएको हो । स्थानीय बासिन्दाले पनि सुस्ताको सुरक्षा र आफन आधारभूत माग पूरा गर्न दबाब दिइरहेका छन् । दुई साताअघि सुस्ता बचाउ आन्दोलनका अगुवा मुन्ना खाँको नेतृत्वमा ५२ स्थानीय बासिन्दाले काकाठमाडौं पुगेर माइतीघर मण्डलामा धर्ना दिएका थिए । त्यतिखेर गृहमन्त्री सुदन गुरुङलाई भेटेर सुस्तामा वर्षाैबाट भारतीय सुरक्षाकर्मीको ज्याजती रहेको र नेपाल सरकारले त्यहाँ नेपाली सेनाको कमाण्डमा सुरक्षाकर्मीको पोष्ट राख्न माग गरेका थिए ।








प्रतिकृया दिनुहोस्