July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा ‘ह्याप्पी स्कूल छात्रवृत्ति कोष’ शुभारम्भ

Advertisement

भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, भैरहवाले ‘रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष’को औपचारिक शुभारम्भ गरेको छ । क्लबको ११औँ पदस्थापन समारोहका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा उक्त कोष शुभारम्भ गरिएको हो ।

Advertisement

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले उक्त छात्रवृत्ति कोषको शुभारम्भ गर्दै शिक्षा क्षेत्रमा गरिएको यो दूरदर्शी पहलले आर्थिक रूपमा विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का अध्यक्ष गंगाधर भण्डारीले ‘रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष’लाई क्लबको दीर्घकालीन सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अभियानका रूपमा अघि बढाइने बताउँदै कोषबाट प्राप्त हुने ब्याज रकममार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

यस कोषमार्फत दुर्गम तथा आवश्यकतामा रहेका विद्यालयहरूमा ह्याप्पी स्कूल परियोजनालाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने क्लबको लक्ष्य रहेको छ । कार्यक्रमका सहभागीहरूले यस अभियानलाई रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ऐतिहासिक तथा दीर्घकालीन प्रभाव पार्ने पहलका रूपमा प्रशंसा गरेका थिए । कोषको रकम १५ लाख रुपैयाँ छ ।

क्लबले स्थापना यता नै शिक्षा, स्वास्थ्य एवं गरिव तथा विपन्न परिवारका क्षेत्रमा सहयोग कार्यक्रम गर्दै आएको छ । बाग्लुङदेखि अर्घाखाँचीका दुर्गम गाउँहरुमा पुगेर रोटरीले सहयोग गर्दै आएको छ ।