July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

रोटरी सेन्ट्रल लुम्बिनीको अध्यक्षमा भण्डारी, समाजिक सेवालाई थप प्रभावकारी बनाउन जोड

Advertisement

भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२६–२०२७ को अध्यक्षमा गंगाधर भण्डारी चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको शनिबार भैरहवामा एक समारोहबीच पदास्थापन गरिएको छ ।

Advertisement

कार्यक्रममा वर्ष २०२५–२०२६ का अध्यक्ष विष्णु शर्माले नवनर्विाचित अध्यक्ष भण्डारीलाई पद हस्तान्तरण गरे । १५ सयदस्यीय नयाँ कार्यसमितिलाई उक्त अवसरमा पद तथा गोपनियताको सपथ समेत गराइएको थियो ।

क्लबको निवर्तमान अध्यक्षमा विष्णु शर्मा, प्रथम उपाध्यक्षमा बासु बडाल र द्वितिय उपाध्यक्षमा विना भण्डारी चयन भएका छन् । यस्तै, सचिवमा उपेन्द्र यादव, कोषाध्यक्षमा टेकराज पाण्डे, चेयर मेम्बरसिपमा दुर्गा पराजुली, चेयर क्लब एडमिनमा विक्रम मल्ल र चेयर सर्भिसमा राम थापा चयन भएका छन् । यसैगरी तीआरएफ चेयर शिवशंकर जैसवाल, चेयर पब्लिक इमेजमा दीपक वर्नवाल, सर्जेन्ट एड एआरएममा गोपाल आचार्य, क्लब इडिटरमा कमल कार्की, टीच चेयरमा शान्ति शर्मा र जेटी ट्रेजर्ररमा राजेश अग्रहरी चयन भएका छन् ।

कार्यक्रममा बोल्दै रोटरीका वर्ष २०२६–२०२७ का डिष्ट्रिक गभर्नर विष्णुबहादुर कार्कीले निवर्तान अध्यक्ष विष्णु शर्माको टिमले समाजमा निकै प्रभावशाली काम गरेको जनाए । नयाँ अध्यक्ष भण्डारीको टिमले पनि अझ राम्रो गर्ने विश्वास उनले व्यक्त गरे । रोटरीले गर्ने भनेकै सेवा भएकाले त्यसमा ध्यान दिन उनको आग्रह छ । सामूहिक भावनाले काम गरेकै कारण रोटरीका काम समाजमा देखिएको जनाउँदै कार्कीले कुनै काम धेरै ठाउँमा छरिएर भन्दा निश्चित ठाउँ तोकेर गरेमा त्यसले प्रभावकारिता दिने जनाए ।

लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी रोटरीले समाजमा छरिएर बसेका तर सेवाभाव रहेका सबैलाई समेटेर सामाजिक काम गरेको जनाइन् । आँखा शिविर गरेर पुण्य काम गरेको, गएको कार्यकालमा निकै राम्रो र प्रभावकारी काम भएको बताइन् । उनले रोटरीले समाजमा मल्हम् लगाउने काम गर्दै आएको बताउँदै अभावमा रहेकालाई उज्यालो छर्नु नै महत्वपूर्ण रहेको सुनाइन् । नयाँ नेतृत्वले मानवीय सेवालाई थप परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने विश्वास उनले व्यक्त गरिन् ।

निवर्तमान अध्यक्ष विष्णु शर्माले आफ्नो कार्यकालमा धेरै अवार्डहरु पाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । वृक्षारोपण, शैक्षिक सामाग्री सहयोग, बृद्धााश्रममा सहयोग, मानवसेवा आश्रममा भोजन सहयोग, आँखा शिविर, गरिब तथा विपन्नलाई सहयोग, ट्रयाकसुट र झोला वितरण, बाग्लुङमा कम्प्युटर ल्याब स्थापना, महिला सशक्तीकरणका लागि व्यवसायिक सिपमूलक तालिम, डायलासिस विरामीको उपचारमा आर्थिक सहयोग, पोलियो विरामीलाई ह्विलचेयर सहयोग, लुम्बिनीमा दिप प्रज्वलन गरिएको जनाए । आफ्नो कार्यकालमा ३३ लाख लगानीमा ३ हजार नागरिक लाभान्वित हुने गरी २५ बढी योजनामा काम गरेको उनले सुनाए । सामूहिक सेवाभावले काम गर्दा सफलता मिलेको उनले सुनाए ।

कार्यक्रममा पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डे, कार्यक्रम संयोजक प्रेम शर्मा लोहनी लगायतले बोल्दै सेवा भावलाई आगमी दिनमा अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । सो अवसरमा विभिन्न कार्यक्रममा संयोजकको भूमिका खेल्ने क्लब सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।