July 9, 2026, Thursday
२०८३ असार २६ शुक्रबार

उत्कृष्ट सेवा दिने अस्पताललाई उपेक्षा गरेर स्वास्थ्य प्रणाली बलियो हुँदैनः सांसद थापा

Advertisement

भैरहवा– रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले उत्कृष्ट सेवा दिने अस्पताललाई उपेक्षा गरेर स्वास्थ्य प्रणाली बलियो नहुने तर्क गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले भैरहवाको भीम अस्पतालको प्रसंग उठाउँदै उक्त कुरा कताएका हुन् ।

Advertisement

रोग लाग्दा बिरामीले अस्पताल नभई, उसले आशा रोज्ने गरेको उनले सुनाए । तर जब अस्पतालमा आवश्यक जनशक्ति हुँदैन, पर्याप्त शय्या हुँदैन, जीवनरक्षक औषधि र खोप हुँदैन, तब बिरामीको आशा नै निराशामा बदलिने सांसद थापाले बताएका छन् ।

‘आज म लुम्बिनी प्रदेशकै गौरव, रुपन्देहीस्थित भीम अस्पतालको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । वि.सं. १९९० सालदेखि सेवा दिँदै आएको यो अस्पताल आज रुपन्देही मात्र होइन, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी तथा सीमावर्ती भारतीय नागरिकको भरोसाको केन्द्र बनेको छ । ५० शय्याको स्वीकृत क्षमता भए पनि दैनिक ५००–६०० बिरामीलाई झण्डै १०० शय्याको अस्पतालसरह सेवा दिइरहेको छ’, उनले भने, ‘प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदासमेत आवश्यक जनशक्ति छैन, अस्पताल अझै ५० शय्यामै सीमित छ, आईसीयू सेवा छैन र एन्टि–रेबिज भ्याक्सिनको समेत नियमित उपलब्धता हुन सकेको छैन ।’

उत्कृष्ट सेवा दिने अस्पताललाई उपेक्षा गरेर स्वास्थ्य प्रणाली नहुने भन्दै उत्कृष्ट अस्पताललाई पुरस्कार होइन, आवश्यक स्रोत दिन उनले सरकारसँग माग गरे । ‘त्यसैले म सरकारसँग तीनवटा स्पष्ट माग गर्दछु—भीम अस्पताललाई तत्काल १०० शय्यामा स्तरोन्नति गरियोस्, स्वीकृत दरबन्दीअनुसार दक्ष जनशक्ति तत्काल पदपूर्ति गरियोस् र एन्टि–रेबिज भ्याक्सिनको नियमित र अविच्छिन्न आपूर्ति सुनिश्चित गरियोस् ।’

भीम अस्पताललाई बलियो बनाउनु भनेको केवल एउटा अस्पताललाई बलियो बनाउनु होइन, लुम्बिनी प्रदेशका लाखौँ नागरिकको स्वास्थ्य अधिकारलाई बलियो बनाउनु रहेको डा.थापाले बताए । अस्पतालमा पछिल्लो समय औषधि र जनशक्ति अभावको चरम समस्या छ ।