July 9, 2026, Thursday
२०८३ असार २६ शुक्रबार

लुम्बिनी सरकारको बजेट बहुमतले पारित

Advertisement

भैरहवा- लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-०८४ को बजेट (विनियोजन विधेयक) बहुमतले पारित गरेको भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३–०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए । सभामुख तुलाराम घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

Advertisement

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथि मन्त्रीले नै मनपरी गरेको आरोपपछि असार २१ गतेदेखि बल्ल प्रदेश सभामा नियमित छलफल सुरु भएको थियो ।

चार दिनसम्म सत्ता र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेटका विषय असन्तुष्टि राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा बोल्दै बजेट र सरकार सैद्धान्तिक र राजनीति हिसाबले फेल भएको बताए । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो क्षेत्रमा मात्रै बजेट माग्ने प्रवृत्ति रोकेर प्रदेशको समग्र विकास हेर्नुपर्नेमा जोड दिए ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेटमा समेटिएका राम्रा पक्षलाई बेवास्ता गरेर विरोध मात्रै भएको जनाए । यद्यपि केही त्रुटी भएको स्वीकार गर्दै उनले यसलाई सच्याउँदै अघि बढ्ने विश्वास व्यक्त गरे ।

बैठकमा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेश सभामा पेश गरेका थिए । बजेटका विषयमा सत्तापक्षकै सांसदहरुले विमती राखे पनि प्रदेशसभाबाट पारित गर्दा भने समर्थन गरेका छन् ।