July 3, 2026, Friday
२०८३ असार २० शनिबार

रूपन्देहीमा सुनको सिक्री लुटपाटमा संलग्न भारतीयसहितको गिरोह पक्राउ

Advertisement

भैरहवा– रुपन्देही प्रहरीले सुनका सिक्री लूटपाट गर्ने समूहका ५ जनालाई पक्राउ गरेको छ । फरक–फरक स्थानमा सुनको सिक्री लुटपाटमा संलग्न मध्य ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक–फरक मितिमा पक्राउ परेकाहरुले सुनको सिक्री लुटेको प्रहरी दावी छ ।

Advertisement

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार असार १७ गते रुपन्देही गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा हाटबजारमा भिडभाडको मौका पारी घाँटीमा लगाएको गणेश भगवानको लकेट सहितको सुनको सिक्री लुटपाट गरी भाग्ने क्रममा जिल्ला बारा बारागढी गाउँपालिका–३, शिवपुरा बस्ने २५ वर्षीय विकाश रायलाई इलाका प्रहरी कार्यालय सूर्यपुराले पक्राउ गरेको छ ।

रायको साथबाट लुटपाट भएको १० ग्राम ८३० मिलग्रिाम तौलको सुनको सिक्री बरामद गरि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, लुम्बिनी पठाइएको डीएसपी चन्दले जनाए ।

त्यसैगरि गत असार १० गते जिल्ला तिलोत्तमा नगरपालिका–४, ड्राइभरटोलस्थित चाँदनीमार्गमा बाटोमा हिंड्ने क्रममा मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिहरुले सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा जिल्लाका बिभिन्न स्थानहरुबाट ४ जना भारतीय र १ जना नेपालीलाई पक्राउ गरिएको डीएसपी चन्दले जनाए ।

लुटपाट भएको सुनका सिक्रीसहित पक्राउ पर्नेहरुमा भारत देश गोरखपुर बस्ने ३२ वर्षीय राहुल जयसवाल, भारत महाराजगन्जजका २२ वर्षीय प्रिन्स जयसवाल, भारत बिहारका ३० वर्षीय नितेश कुमार गुप्ता तथा रुपन्देही सिद्धार्थनगर नगरपालिका–५ का ३२ वर्षीय प्रदीप कान्दु छन् ।

उनीहरुबाट २.९९ लाल ७ पोइन्ट तौल भएको सुनको सिक्री १ थान, ९० लाल ७ पोइन्ट तौल भएको सुनको सिक्री १ थानका साथै उनीहरुले लुटपाटमा प्रयोग गर्दै आएका लु ६५ प २९३१ नम्बरको मोटरसाइकल १ थान बरामद गरि इलाका प्रहरी कार्यालय, बुटवलबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।