July 3, 2026, Friday
२०८३ असार २० शनिबार

जेनजी आन्दोलन र निर्वाचनले घट्यो रूपन्देही जिल्ला अदालतको मुद्दा फर्छ्यौट दर

Advertisement

भैरहवा– रुपन्देही जिल्ला अदालतको मुद्दा फर्छ्यौट दर घटेको छ । अदालतका अनुसार आर्थिक वर्ष २०८१–०८२ भन्दा २०८२–२०८३ मा ५.७७ प्रतिशतले मुद्दा फर्छ्यौट घटेको हो । अघिल्लो वर्ष करिब ६० प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतले चाु वर्षको असार १७ गतेसम्म ५४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

Advertisement

अदालतले बिहीबार आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले जेनजी आन्दोलन, निर्वाचन, मुद्दाको चाप र कर्मचारी अभाव जस्ता कारणले चालु वर्षमा लक्ष्य अनुसार मुद्दा फर्छ्यौट गर्न नसकिएको जनाए । जेनजी आन्दोलनका क्रममा अदालतमा १९ लाख बढीका भौतिक संरचनामा क्षति पुगेको थियो ।

न्यायाधीश बस्नेतका अनुसार अघिल्लो वर्षबाट लगत सरी आएका र नयाँ दर्ता भएका गरी कुल ७ हजार ६४२ मुद्दा मध्ये हालसम्म ४ हजार १०९ मुद्दा फर्छ्यौट भएका छन् । न्यायाधीश बस्नेतका अनुसार चालु वर्षको असार १७ सम्म अदालतमा ४ हजार ४०२ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षबाट ३ हजार २४० मुद्दा जिम्मेवारी सरेर आएका थिए । उनका अनुसार चालु वर्षमा अदालतले ५ हजार ९९५ मुद्दा फछ्र्यौट लक्ष्य राखेको थियो । तर, लक्ष्य भने भेट्टाउन नसकिएको उनको भनाई छ । हाल अदालतमा ३ हजार ५३३ मुद्दा विचारधीन छन् ।

अदालतमा हाल २ वर्ष नाघेका विचारधीन मुद्दा १३४ वटा छन् । १८ महिनादेखि २ वर्षभित्रका २५० र १८ महिना भित्रका मुद्दा ३ हजार १४९ छन् । अदालतले आव २०८२–०८३ मा फैसला कार्यान्वयनबाट १ हजार हजार ७८१ वर्ष ७ महिना २९ दिन कैद असुलउपर गरेको छ भने अझै ३ हजार ७८९ वर्ष ९ महिना १४ दिन असुल गर्न बाँकी छ । यस्तै, चालु वर्षमा १० करोड १९ लाख ७६ हजार ३५१ रुपैयाँ जरिवाना असुलउपर हुँदा ९२ करोड १५ लाख २९ हजार ५९८ रुपैयाँ असुल गर्न बाँकी छ । यस्तै, अदालतले २ हजार २१४ वटा फैसला कार्यान्वयन गरेको छ भने अझै २ हजार १६४ फैसला कार्यान्वयन गर्न बाँकी छन् ।

यस्तै, पारिवारिक इजलासमा रहेका ४ सय ८ वटा मुद्दामध्ये २ सय वटा फर्छ्यौट गरिएको छ । जिल्ला अदालतमा आर्थिक वर्ष २०८१–०८२ बाट पारिवारिक इजलास संचालन भएको थियो । अदालतले मेलामिलापमार्फत् २२८ वटा मुद्दा टुंग्याएको छ । कुल मुद्दा १ हजार ७३ दर्ता भएकोमा ७४० भने मेलमिलापबाट सफल हुन सकेनन् । १ सय ५ वटा मुद्दा भने विचाराधीन अवस्थामा छन् । अदालतका अनुसार जिल्लामा पछिल्लो समय बैंकिङ कसूर, चेकअनादर, लागूऔषध, सवारी ज्यान, सम्बन्ध विच्छेद, अंशमानाचामल लगायतका मुद्दा बढी मात्रामा दर्ता भइरहेका छन् ।