June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

धान उत्पादनका लागि उर्भर भूमि लुम्बिनीमै जम्मा २०.८ प्रतिशत रोपाईं

Advertisement

भैरहवा– किसानलाई सधैं मल, बीउ र सिंचाईकै चिन्ता छ । समयमा मल नपाउँदा भारतीय बजारबाट चोरीपैठारी गरेर ल्याउनुपर्ने बाध्यता छ । सीमावर्ती क्षेत्रका बासिन्दाले यस्तो काम गरे पनि अन्य ठाउँकालाई निकै समस्या छ । आज असार १५, राष्ट्रिय धान दिवस । धान उत्पादन बढाउने नारासहित सोमबार दिवस मनाइरहँदा लुम्बिनी प्रदेशमा अधिकांश खेतियोग्य जमिन सुक्खा र बाँझैं छन् ।

Advertisement

सिँचाई अभावमा किसान पिरोलिएका छन् । रोपाईंका लागि तयार बीउ पनि सुकेको छ । असार मध्येसम्म धान उत्पादनका लागि उर्भरभूमि लुम्बिनीमा २०.८ प्रतिशतमात्र रोपाईं भएको छ । लुम्बिनीमा कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती हुादै आएको छ । यसमध्ये हालसम्म ६२ हजार ६ सय ७०.८७ प्रतिशत क्षेत्रफलमा धान रोपाईं भएको छ ।

सिंचाई अभावले आकाशे पानीमै भरपर्ने भएकाले तराईका जिल्लाहरुमा धानको ब्याडमा बिउ पुरानो हुँदै जाँदासमेत किसानले धान रोप्न नपाएका हुन् । प्रदेशको कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बाँकेमा कम रोपाईं भएको छ । ३३ हजार ८ सय ७० हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म १ सय ६८ दशमलब ९ प्रतिशत अर्थात् शून्य दशमलब ५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाईं भएको छ । लुम्बिनीमा सबैभन्दा धेरै पश्चिम नवलपरासीमा रोपाईं भएको छ ।

निर्देशनालयका कृषि प्रसार अधिकृत नविन गैरेका अनुसार नवलपरासी पश्चिममा ५० प्रतिशत खेतमा रोपाईं भएको छ । नवलपरासीमा २० हजार ८ सय ८७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएकोमा अहिलेसम्म १० हजार ४ सय ४३ हेक्टरमा धान रोपेर सकिएको छ ।

६३ हजार ५ सय ५० हेक्टर क्षेत्रमा धान उत्पादन हुने गरेको रूपन्देहीमा २७ हजार ३ सय २६ हेक्टर क्षेत्रफल अर्थात् ४३ प्रतिशत जमिनमा किसानले धान रोपेका छन् । तराईकै जिल्लाहरु मध्ये ३६ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने दाङमा १५ प्रतिशत, ६६ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने कपिलबस्तुमा अहिलेसम्म किसाले १ दशमल ५८ प्रतिशत अर्थात् १ हजार ५० सय हेक्टरमा मात्र धान रोपेका छन् । अन्य खेत पानीकै अभावले बाँझै छ ।

५० हजार १ सय ५० हेक्टर धान खेतीको क्षेत्रफल रहेको बर्दियामा १९ दशमलब ३१ प्रतिशत रोपाईं भएको छ । प्रदेशका ६ वटा पहाडी जिल्ला मध्ये पाल्पामा सबैभन्दा ४ प्रतिशत जमिनमा मात्र रोपाईं भएको छ । यहाँ ७ हजार २ सय ८७ धान खेती हुने भए पनि २ सय ९१ हेक्टरमा मात्र रोपाईं भएको छ । ६ हजार ५ सय ४१ हेक्टर धानखेतीको जमिन रहेको गुल्मीमा ७ प्रतिशत, प्यूठानमा ८८ प्रतिशत रोपाईं भएको छ । ६ हजार ५ सय २५ हेक्टर धानखेतीको क्षेत्रफल रहेको प्यूठानमा अहिलेसम्म ५ हजार ७ सय ४२ हेक्टरमा रोपाईं सकिएको छ ।

प्यूठानको अधिकांश खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेकाले धेरै रोपाईं सकिएको निर्देशनालयका कृषि प्रसार अधिकृत गैरेले बताए । उनका अनुसार ६ हजार ७६० हेक्टर क्षेत्रफलमा धानखेती हुने अर्घाखाँचीमा ११ दशमलब २, ३ हजार ७३ हेक्टरमा धान खेती हुने रोल्पामा ४० र ३६४ हेक्टरमा धान खेती हुने रुकुम पूर्वमा २५ प्रतिशत खेतमा रोपाईं सकिएको छ ।