बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा अनुगमन, गुणस्तरहीन काम तत्काल सुधार्न निर्देशन


परासी– निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट गुनासो र प्रश्न बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ । एसियाली राजमार्गको मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको यो खण्डमा पछिल्लो समय गुणस्तरमा प्रश्न उठेको छ ।
संयुक्त टोलीले पश्चिम नवलपरासीको दाउन्ने पश्चिमदेखि बुटवलतर्फको सडक खण्डमा प्राविधिक तथा व्यावहारिक अवस्थाको अनुगमन गरेको हो । अनुगमनका क्रममा राष्ट्रिय गौरवको यस आयोजनाको गुणस्तर र बजार क्षेत्रमा देखिएका समस्याबारे स्थानीय जनप्रतिनिधि, प्राविधिक र सुरक्षा निकायबीच छलफल भएको छ ।
अनुगमनका क्रममा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बिक्रम खनालले सडक निर्माणका विभिन्न चरणमा गम्भीर प्राविधिक सुधारको आवश्यकता औल्याए । ‘राष्ट्रको अर्थतन्त्रसँग जोडिएको यो सडक एशियन हाइवेको मापदण्ड अनुसार नै बन्नुपर्छ। अनुगमनका क्रममा कतिपय ठाउँमा सुधार गर्नुपर्ने स्पष्ट देखिएकाले सम्बन्धित निकायले तत्काल मापदण्ड अनुसार काम अघि बढाउनुपर्छ, यसमा कुनै सम्झौता हुँदैन’, उनले भने ।
बुटवल–नारायणगढ सडक आयोजना (पश्चिम खण्ड( कार्यालयका इन्जिनियर विकास खनालले काममा केही कमजोरी र सुधारका पक्षहरू देखिएको स्वीकार गरे । उनले अनुगमनका क्रममा भेटिएका प्राविधिक त्रुटिहरूलाई सच्याउन आयोजना कार्यालयको तर्फबाट निर्माण कम्पनीलाई तत्कालै औपचारिक पत्राचार गरिने र काममा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, निर्माण कार्यको सुपरिवेक्षण गरिरहेको कन्सल्ट्यान्ट कम्पनीका इन्जिनियर शशी श्रेष्ठले अनुगमन टोली र जनताको चासोलाई मध्यनजर गर्दै कामको गुणस्तरमा तत्काल सुधार ल्याउने प्रतिबद्धता जनाए ।
बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरपालिकाले यसको निरन्तर निगरानी गरिरहेको बताए । निर्माण कम्पनीले काम मापदण्ड अनुसार नगरे स्थानीय सरकार मूकदर्शक भएर नबस्ने उनले जनाए ।
बर्दघाट नगरपालिकाका संस्थापक नगर प्रमुख धीर शर्मा बस्यालले ‘एशियन हाइवे’को गुरुयोजना अनुसार नै सुरुवाती सम्झौता बमोजिम काम हुनुपर्ने बताए । दीर्घकालीन टिकाउपनका लागि काममै विशेष ध्यान दिन जरुरी रहने जनाउँदै अन्यथा यो अर्बौँको लगानी बालुवामा पानी हाले जस्तै हुने उनको धारणा छ ।
बर्दघाट नगरपालिकाका वडा नं. (१४ का वडाध्यक्ष भिमकाजी गुरुङ्गले सडक खण्डहरूमा ड्रेनेज (नाली)को सही निकास नहुँदा वर्षाको पानी सडकमा जमेर सडक केही भाग दबेर जोखिम बढेको बताए ।
बर्दघाट नगरपालिकाका नगर कार्यपालिका सदस्य सुमित्रा ढकालले सडक सुरक्षाको अभावमा दुर्घटनाको जोखिम उत्तिकै रहेको बताउँदै यसमा निर्माण पक्ष संवेदनशील बन्नुपर्ने बताए । अनुगमनका क्रममा सडक चाँडै बिग्रिनु र भाँसिनुको एउटा मुख्य प्राविधिक कारण समेत सार्वजनिक भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीका अनुसार उक्त सडक खण्डको भारवहन क्षमता मापदण्ड अनुसार बढीमा १० टनसम्म मात्र रहेको छ। तर, हाल उक्त सडकमा क्षमताभन्दा ९ गुणा बढी अर्थात् ९० टनसम्मका ओभरलोड मालवाहक सवारी साधनहरू निर्वाध रूपमा आवतजावत गरिरहेका छन्। यही अत्यधिक भार (ओभरलोड)का कारण निर्माण सम्पन्न भएका वा मर्मत गरिएका नयाँ पिच खण्डहरू पनि छोटो समयमै उप्किने, भाँसिने र बिग्रिने गरेको प्राविधिकहरूको ठहर छ।
अनुगमन टोलीले ओभरलोड सवारी साधनको नियन्त्रणका लागि ट्राफिक प्रहरी र स्थानीय प्रशासनले तत्काल कडा कदम चाल्नुपर्ने निष्कर्ष निकाल्दै सडकलाई तोकिएकै समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गराउन निरन्तर समन्वय, सहजीकरण र नियमित अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दाउन्ने पश्चिमदेखि बुटवलसम्मको करिब ४८ किलोमिटर सडक खण्ड करिब ८ अर्ब रुपैयाँमा निर्माण भइरहेको छ ।








प्रतिकृया दिनुहोस्