लुम्बिनी विकास कोषका १२ पदाधिकारीका लागि ७ सय आवेदन


भैरहवा–विश्व सम्पदा सूचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण भन्दा प्रवद्र्धन भन्दा कसरी पदाधिकारी बन्ने होडबाजी चलिरहेको छ । यसअघि गुपचुप पदाधिकारीमा नियुक्ति गरिँदैं आएकोमा यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो । १२ पदका लागि आवेदन माग गरिएकोमा ७ सय भन्दा बढीले निवेदन दिएका छन् । निवेदन बिनै पनि नियुक्तिका लागि दौडधुप चलिरहेको छ ।
लुम्बिनी विकास कोषमा एक दर्जन पदाधिकारीका लागि सय २७ जनाले आवेदन गरेका छन् । आवेदन दिनेले आफ्नो बायोडाटा मन्त्रालयको क्यूआर स्क्यान गरेर अपलोड गरेका छन् । मन्त्रालयले आवेदन भर्नेको रोष्टर सार्वजनिक गरिसकेको छ । योजना प्रमुखसहित १२ पदाधिकारीकालागि आवेदन माग गरिएको थियो । उक्त सूचना सार्वजनिक भएपछि ६० गुणा भन्दा बढी आवेदन परेका हुन् । मन्त्रालयले प्रकाशित गरेको रोष्टर अनुसार सबैभन्दा बढी सदस्य सचिब पदकालागि २ सय ९ जनाले आवेदन गरेका छन् ।
उपाध्यक्ष पदकालागि १ सय ४ जना, योजना प्रमुखकालागि १ सय १२ र कोषाध्यक्षकालागि ८६ जनाले आवेदन दिएका हुन् । बाँकि आवेदन कार्यकारी र परिषद् सदस्यका लागि परेका हुन् । आवेदन नदिएर व्यक्ति पहुँचका भरमा नियुक्तिकालागि लबिङ गर्ने पनि उत्तिकै छन् । सरकारले अध्यादेश ल्याएपछि कोषका पदाधिकारी रिक्त भएका थिए । अहिले उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन भर्ने-नभर्ने दुबै पक्ष नियुक्तिका लागि धाइरहेका छन् । उपाध्यक्ष र सदस्य सचिब नियुक्तिकालागि अस्वभाविक प्रतिष्पर्धा देखेर स्थानीयले चिन्ता र चासो ब्यक्त गरेका छन् ।
यस अघि कहिल्यै यस्तो प्रतिष्पर्धा भएको थिएन् । पहिले मन्त्रीले निकट व्यक्तिलाई नियुक्ति दिने चलन थियो । यसपटक सरकारले खुला आवेदन माग गरेपछि प्रतिष्पर्धा देखिएको हो । कोषका अध्यक्ष संस्कृति मन्त्री हुन्छन् । तर, मन्त्रीको ब्यस्ततामा अधिकांश काम उपाध्यक्षले नै गर्छन् । सदस्य सचिव कार्यकारी भूमिकामा हुन्छन् । आर्थिक र प्रशासनिक अधिकार सदस्य सचिबसंग हुन्छ । तै पनि उपाध्यक्ष बन्नकालागि चलखेल हुँदैं आएको छ ।

लुम्बिनीलाई अध्यात्मिक केन्द्र बनाएर विश्वभरका तीर्थयात्री र पर्यटक लुम्बिनी भित्रायाउन कोषको पदाधिकारी बनेर आउने गरेका छनु । बुद्धसंग सम्बन्धित लुम्बिनी, कपिलवस्तु, देबदह र रामग्रामको एकिकृत विकास गर्न तयार गरिएको बृहत्तर लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन गरि पर्यटन विकास गर्ने लुम्बिनी विकास कोषको मुख्य कार्यादेश हो । स्थानीयलाई आर्यआर्जन र रोजगारीसंग जोडेर अपनत्व ग्रहण गर्न लगाई शान्ति र अध्यात्मिकता पर्यटन विकास गर्ने लक्ष्य बनाइएको हो ।
तर, पछिल्लो पटक यहाँ उपाध्यक्ष नियुक्त भएर आउनेले लुम्बिनीको सर्वोपरि विकास र हितभन्दा व्यक्तिगत लाभ र कल्याणमा लागेपछि प्रश्न उठन थालेको हो । बौद्ध अनुयाई भएर उपाध्यक्ष बन्ने, तर बुद्धले प्रतिपादन गरेका आधारभूत शिल अनुशरण नगरेर संस्थाभन्दा ब्यक्तीगत लाभमा रमाउदा शिर निहुर्याउनु परिरहेको बुद्ध धर्मावलम्बी बताउछन् ।
लुम्बिनीमा विश्वका विभिन्न बौद्ध मुलुक र शक्ति राष्ट्रका विहार, गुम्बा, स्तुपा, गोन्पो र चैत्य छन् । ती गुम्बा र विहार मार्फत सम्बन्ध बढाउन सकिने, देशविदेश घुम्न पाइने, सहयोग–सद्भाव पाइने र आफूलाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाउने सकिने हुदा उपाध्यक्ष बन्न मरिहत्ते गर्ने गरेको लुम्बिनी विकास कोष निबर्तमान परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए ।








प्रतिकृया दिनुहोस्