June 18, 2026, Thursday
२०८३ असार ५ शुक्रबार

अख्तियारद्वारा कोटहीमाईमा छापा, काजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु

Advertisement

भैरहवा– नदीजन्य पदार्थको ठेक्का र उत्खनन् गडबडी गरेपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले छापा मारी कागजात नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा अख्तियारमा उजुरी परेको थियो ।

Advertisement

अख्तियारको टोली पालिकामा पुगेर छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । कोटहीमाईमा मनपरी ढंगले नदीजन्य पदार्थ उत्खनन् ठेक्कामा सेटिङ मिलाएको आरोप छ । पालिकाले यसपटक तिनाउ र दानवमा गरी ४ ठाउँ ठेक्का लगाएको थियो ।

तर, ठेक्का लगाउँदा पालिका अध्यक्षदेखि कर्मचारीसम्म सेटिङ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जेठ ३१ पछि नदीजन्य पदार्थ उत्खनन् रोकिएको छ । अख्यितारले भने उत्खनन् रोकिएपछि बल्ल छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

पालिकाको वडा नम्बर ५ स्थित बेनीघाटमा नमूना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खननका लागि ठेक्का लिएको थियो । उक्त कन्सट्रक्सनले अनुमति पाएको स्थानभन्दा फरक स्थानमा घाटगद्दी (उत्खनन् पश्चात नदीजन्य पदार्थ जम्मा गर्ने स्थल) गरेको पाइएपछि अनुसन्धान अघि बढेको हो ।

स्थानीयका अनुसार दीजन्य पदार्थ ठेक्का लगाएपछि उत्खनन् नरोकिँदासम्म पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरले स्थानीयको फोन समेत रिसिभ नगरी सम्पर्क बिहीन भएर मनपरी नदी दोहनमा सघाएका थिए । जनप्रतिनिधि र कर्मचारी नै मिलेपछि ठेकेदारले मनपरी उत्खनन् र घाटगद्दी गरेका थिए । विक्री आदेशविनै सिधै विक्री गर्ने र ठूलाठूला खाडल बनाएर नदी दोहन गरेका थिए ।

अख्तियारको टोलीले कागजपत्र नियन्त्रण लिएर अनुसन्धान अघि बढाए पछि बल्ल कर्मचारीहरु सम्पर्कमा आउन थालेको स्थानीयले बताएका छन् । बुधवार बसेको गाउँपालिका कार्यपालिकाको बैठकले फरक स्थानमा घाटगद्दी गरिएको नदीजन्य पदार्थ जफत गर्ने र ठेकेदारलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको अर्को दिननै बैठक बसेर कारवाहीको निर्णय गरेको पालिकाले त्यो भन्दा अघि अनुगमन गरेर कारवाही नगर्नुमा मिलोमतोको आशंकामा बल पुगेको बताइएको छ । मंगलाबार मात्रै अख्तियारले काजपत्र नियन्त्रणमा लिएको थियो ।

पालिकाले जेठ २१ गते एक सूचना प्रकाशित गर्दै असार १ गतेदेखि ०८३ भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्य पूर्ण रुपमा बन्द गरिएको जनाएको थियो । पालिकाले ठेकेदारको उत्खननमा प्रयोग भएको दुई वटा मेसिनसमेत नियन्त्रणमा लिएको छ । अख्तियारको तदारुकताले पालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतो बाहिर आउने स्थानीयको अपेक्षा छ । अख्तियारले यस विषयमा सुक्ष्म अनुसन्धान सुरु भएको जनाएको छ ।