प्यूठानमा बाढीले बगाएका दाजुभाइ नै मृत फेला परे


प्यूठान– विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् । प्यूठानको नौबहिनी गाउँपालिका–५, काँटेमा मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेर उनीहरु बेपत्ता भएका थिए ।
मृत्यु हुनेमा स्थानीय मिलन खत्री र बिमल खत्रीको रहेको प्रहरीले जनाएको छ । जनता प्राथमिक विद्यालय, काँटेमा कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ । उनका दाइ, सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
भेलले बगाएको सूचना प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरी संयुक्त रूपमा खोजी तथा उद्धारमा खटिएका थिए । विद्यालयबाट घर फर्किरहेका बेला वर्षापछि एक्कासि आएको बर्खे भेलमा उनीहरू परेका थिए । बालकहरु मृत भेटिएपछि गाउँ शोकमा डुवेको छ ।








प्रतिकृया दिनुहोस्