विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली मुलुकभर विस्तार गरिँदै


भैरहवा–बिदेशी पर्यटकको नेपाल बसाइलाई व्यवस्थित बनाउन लागु गरिएको बिदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई मुलुकभर बिस्तार गर्ने तयारी अध्यागमन बिभागले गरेको छ ।
तेस्रो मुलुकका पर्यटकको नेपाल आगमन भएदेखि बहिर्गमन हुँदासम्म व्यक्तिगत गोपनियता बाहेक पर्यटकले सामाजिक क्षेत्रमा गर्ने सवै गतिबिधि वारे जानकारी लिनका लागि अध्यागमन विभागले सवै सरोकारवाला निकायलाई यो सूचना प्रणालीसंग जोड्न खोजेको छ । यसका लागि अध्यागमन विभागले बढि पर्यटकको आगमन हुने र बस्ने पर्यटकीय स्थानमा रहेका पर्यटन व्यवसायका सरोकारवाला निकायहरुबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने गरेको छ ।
विभागले सोमवार भैरहवामा पर्यटन व्यवसायी लगायत्का सरोकारवाला निकायसंग बिदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली वारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
पर्यटन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटन क्षेत्रमा नेपाललाई विश्वकै सुरक्षित गन्तब्य बनाएर पर्यटन प्रबद्र्दन गर्नका लागि र पर्यटकलाई नेपालको कानुन बिपरीतका अवाञ्छनीय गतिबिधिमा संलग्न हुनबाट रोक्नका लागि यो प्रणाली लागू गरिएको बताए । ‘राष्ट्रिय सुरक्षाकालागि र पर्यटनमा नेपाललाई विश्वकै सुरक्षित गन्तब्य स्थल बनाएर पर्यटन प्रबद्र्दन गर्नकालागि यो सूचना प्रणाली लागु गरिएको हो’ तिवारीले भने, ‘बिदेशी भिसा लिएर नेपाल आउने पर्यटकको गतिबिधि राज्यलाई थाहा हुनु पर्छ भन्ने मान्यता हो ।’
यो प्रणाली अन्तर्गत पर्यटक नेपाल भित्रिएपछि कहाँ बस्यो, कहाँ कहाँ गयो ? लगायत्का सवै बिषयमा जानकारी हुने छ । क्युआर कोड तथा मोवाइल एपको माध्यमबाट सञ्चार, यातायात, आवास, हवाइ सेवा, बैंक तथा वित्तिय संस्था, ट्रेकिगं लगायत्का क्षेत्रमा पर्यटकले गरेको सवै गतिबिधि वारे राज्यलाई जानकारी हुने छ । यसका लागि होटल, टेलिकम, बित्तिय संस्था तथा मनिचेञ्जर, पर्वतारोहण एजेन्सी, लगायत्का क्षेत्रमा आवद्ध निकायलाई यो प्रणालीमा जोड्न खोजेको छ ।
अध्यागमन बिभागले पोखरा र चितवनमा सरोकारवाला निकायहरुबिच अन्तरक्रिया तथा छलफल गरिसकेको छ । भैरहवापछि केही अन्य पर्यटकिय स्थानमा पनि सरोकारवाला निकायसंग छलफल गर्ने योजना अध्यागमन विभागको छ । महानिर्देशक तिवारीका अनुसार, नेपाल भिसामा आएका कतिपय बिदेशी नागरिकले आँफु मनलाग्दो कार्य गर्ने, नेपालको कानुन बिपरीतका कार्यमा संलग्न हुने, धर्मसंग खेल्ने, अन्य आपराधिक कार्यमा समेत संलग्न हुने गरेको पाइएको छ ।
अध्यागमन विभागका अधिकृत पर्शुराम भट्राईले बिदेशी पर्यटकहरुद्वारा हुने अवाञ्छित गतिबिधि नियन्त्रण गर्ने, पर्यटकको बसाइलाई सुरक्षित बनाउने, उनीहरुको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने र अपराध अनुशन्धानलाई प्रभावकारी बनाउँदै विश्वकै सर्वाधिक आकर्षक पर्यटकीय गन्तब्य बनाउन यो प्रणालीलाई देशव्यापी बिस्तार गर्न खोखिएको बताए ।
तत्कालिन गृहमन्त्री ओमप्रकाश अर्यालले गत पुस १७ गते यो प्रणालीको सुभारम्भ गरेका थिए । अध्यागमन बिभागका अनुसार, सन् २०२६ को मे महिनासम्म यो प्रणालीमा नेपालका १ हजार ५ सय ६० वटा पर्यटन व्यवसायसंग आवद्ध संस्था आवद्ध भएका छन् । १ लाख ४० हजार ९ सय ५१ जना पर्यटकको स्क्यान भएको छ ।
सन् २०२५ मा ५ सय २३ जना तेस्रो मुलुकका पर्यटक कानुन बिपरित कार्य गरेकाले निष्काशन तथा कारवाही गरिएको थियो भने यस बर्षको जुन १० सम्ममा यो संख्या १ सय ९० जना छ । भैरहवाका पर्यटन व्यवसायी तथा सोट्टो नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले नेपालमा पर्यटनको सवैभन्दा ठूलो हिस्सा राख्ने भारतीय पर्यटककोपनि तथ्याकं राखिनु पर्ने बताए । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राइले कुन उद्येश्यले नेपाल बिदेशी पर्यटक आउन खोजेको हो ? त्यो खुलाउनु पर्ने प्रावधान राखिनु पर्ने बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा भैरहवाका अर्का पर्यटन व्यवसायी राजेश महोत्राले यो प्रणाली लागु गर्न चुनौतीपूर्ण रहेको र साना होटल व्यवसायीलाइपनि समेट्नु पर्ने सुझाव दिए ।








प्रतिकृया दिनुहोस्