June 11, 2026, Thursday
२०८३ जेष्ठ २९ शुक्रबार

सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

Advertisement

परासी– सर्वोत्तम सिमेन्ट लिमिटेडले सुनवल नगर अस्पतालमा ‘सर्वोत्तम सिमेन्ट आकस्मिक कक्ष भवन’ निर्माण गर्ने भएको छ। यसका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिका र सिमेन्ट उद्योगबीच सम्झौता भएको छ ।

Advertisement

उक्त द्विपक्षीय सम्झौतापत्रमा सुनवल नगरपालिकाका तर्फबाट नगर प्रमुख विमला अर्याल र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।

सर्वोत्तम सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सुविधासम्पन्न भवन निर्माण गरिदिन लागेको हो। स्थानीय सरकार र निजी क्षेत्रबिचको यो सहकार्यले नगरको स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

नगर प्रमुख विमला अर्यालले नगरवासीको स्वास्थ्यप्रति संवेदनशील रहँदै पूर्वाधार विकासमा सहकार्य गरेकोमा सर्वोत्तम सिमेन्ट परिवारप्रति धन्यवाद ज्ञापन गरिन् । उनले भवन निर्माणपछि स्थानीय नागरिकले आकस्मिक स्वास्थ्य सेवा सहज र भरपर्दो रूपमा प्राप्त गर्ने जनाइन्

त्यस्तै, सर्वोत्तम सिमेन्टका महाप्रबन्धक घिमिरेले उद्योगले व्यावसायिक सफलतासँगै स्थानीय समुदायको हित र सामाजिक विकासलाई सधैं प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस्ता उदाहरणीय कार्यमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

भवनको निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयभित्र सम्पन्न गरिने जनाइएको छ। निजी क्षेत्र र स्थानीय सरकारबिचको यो साझेदारीले सुनवल नगर अस्पताललाई नमूना अस्पतालका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयवासीको अपेक्षा छ।

सुनवल नगरपालिका–५ बनकट्टीस्थित नगर अस्पताल परिसरभित्र निर्माण हुने उक्त भवन अत्याधुनिक, तीनतले, बालमैत्री, अपाङ्गमैत्री तथा लिफ्टसहितको हुने नगरपालिकाले जनाएको छ।