दोस्रो कार्यकालका लागि रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरि थापा निर्वाचित


भैरहवा— दोस्रो कार्यकालका लागि रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार भैरहवामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी शक्तिप्रसाद गौचनलाई २० मतले पराजित गर्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले ६९ मत प्राप्त गरी पुनः अध्यक्ष निर्वाचित हुँदा गौचनले ४९ मत प्राप्त गरे ।
चार वर्षअघि भएको निर्वाचनमा पनि थापाले गौचनलाई पराजित भएका थिए । थापा र गौचनले प्यानलै बनाएर चुनावमा होमिएका थिए । दुईजना सदस्य बाहेक सबै पदमा थापा पक्षका निर्वाचित भएका छन् । १५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा खेमराज भुसाल ६९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सन्जीव जोशीले ४९ मत पाए । यस्तै, संघको सचिवमा उदयकुमार मल्लिकले ६८ र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले ७७ मत ल्याएर निर्वाचित भएका छन् । मल्लिकका प्रतिस्पर्धी प्रथम पराजुलीले ६८ र क्षेत्रीका प्रतिद्वन्द्वी सत्यजित सरकारले ४१ मत पाए ।
संघको महिला सदस्यमा उमा अधिकारीले ७७ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी अलिसा केसीले ४२ मत पाइन् । यस्तै, अन्य १० जना सदस्यहरुमा प्रशान्तविक्रम मल्ल ८९, निरजप्रताप खाँण ७३, पुनित पोखरेल ६७, विजयसिंह ज्ञवाली ६४, मनोज भण्डारी ५९, अन्तिम थापा ५९, ज्वालेसप्रसाद प्रधान ५८, भुवन पाण्डे ५६, ताराप्रसाद पाठकले ५६ र कृष्णकुमार कुँवरले ५२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले जानकारी दिए । सदस्य निर्वाचित भुवन र अन्तिम गौचन पक्षका हुन भने अन्य सबै पदाधिकारी तथा सदस्यहरु थापा पक्षका हुन् । १२६ मतदाता रहेको संघमा सोमबार भएको मतदानमा १ सय १९ मत खसेको थियो ।








प्रतिकृया दिनुहोस्