June 7, 2026, Sunday
२०८३ जेष्ठ २५ सोमबार

आकाश कापी उद्योगले जित्यो ‘द नेक्स्ट पब्लिक कुरा फुटसल’को उपाधि

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवास्थित आकाश कापी उद्योगले ‘द नेक्स्ट पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगताको उपाधि जितेको छ । माटिकोरे मिडिया प्रालिद्वारा संचालित पब्लिक कुरा डटकमको आयोजनामा आइतबार भैरहवा फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई ८–२ गोल अन्तरले पराजित गर्दै आकाश कापीले उपाधि रक्षा गरेको हो ।

Advertisement

उपाधि जितेको आकाश कापी उद्योगले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सुरुवातदेखि प्रभावशाली प्रदर्शन गर्दै आएको आकाश कापीका खेलाडीले अन्तिम प्रतिष्पर्धामा पनि उत्कृष्ट प्रदर्शन गरे । खेलाडीबीच उत्कृष्ट तालमेलका कारण एक पछि अर्को गोल थपेर जित सुनिश्चित गरेका थिए । आकाश कापीका लागि अस्मित शर्माले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन कायम राखे । उनी सर्वाधिक गोलकर्ता बने । उनले ट्रफी र नगद ४ हजार रुपैयाँ प्राप्त गरे । आकाश कापीकै युनिश केसी उत्कृष्ट गोलकिपर भई नगद ४ हजार रुपैयाँ र ट्रफी पाए ।

सेमिफाइनलमा बलियो प्रतिस्पर्धी भेल्भेट लक्स होटललाई पराजित गरेर फाइनल प्रवेश गरेको एभरेष्ट इन्स्योरेन्सले अन्तिम स्पर्धामा स्तरीय प्रदर्शन दोहोर्याउन सकेन । एभरेष्ट इन्स्योरेन्सका स्ट्राइकर रोहित कुँवर उत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा आकाश कापीले उद्योगले सिद्धार्थ सार्वजनिक यातायात प्रालिलाई पराजित गरेको थियो । अत्यन्त प्रतिष्पर्धात्मक खेलमा दुबैं टिमले बराबर गोल गरेर खेलको निर्णय ट्राइबेकरबाट गएको थियो । ट्राइबेकरमा आकाश कापीले ३–२ ले सिद्धार्थलाई पराजित गरेको थियो ।

शनिवार सुरु प्रतियोगितामा २२ कर्पोरेट र ४ सरकारी कार्यालय गरी २६ टीमको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य तथा बरिष्ठ उद्योगी राजेशकुमार अग्रवालले गरेका थिए ।

आइतबार समापन समारोहमा प्रतियोगिताका बिजेता र उपविजेता टीमलाई सिद्धार्थ नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, टाइटल स्पोन्सर द नेक्स्ट एकजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक गोविन्दराज अधिकारी र प्रमुख कार्यकारी अधिकृत अजिता भुसाल, रुपन्देही प्रहरी प्रमुख जनकबहादुर शाही, सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरे, अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धब कार्की, पब्लिक कुराका प्रधान सम्पादक माधव ढुंगाना लगायतले पुरस्कार प्रदान गरेका थिए ।

समापन समारोहमा बोल्दै नगर प्रमुख खाँले अहिलेको परिप्रेक्ष्यमा स्वस्थ रहन र अनुशासन पालनाका लागि खेल महत्वपूर्ण रहेको बताए । यस्ता आयोजनाबाट खेलसँगैं समग्र नगरमा खेल संस्कारको विकास हुने विश्वास व्यक्त गरे । कर्पोरेट संस्थाबीचको खेलले एक आपसमा चिनजानको वातावरण बनेको उनले जनाए । पहिलो पटक भैरहवामा भव्य किसिमले कर्पोरेट फुटसलको आयोजना हुनु आफैंमा सुखद पक्ष भएको जनाउँदैं आगामी दिनमा यस प्रतियोगितालाई निरन्तरता दिन अनुरोध नगर प्रमुख खाँले अनुरोध गरे ।

महासंघका प्रदेश अध्यक्ष श्रेष्ठले जिल्ला स्तरमा आयोजित कर्पोरेट फुटसलको आयोजनाबाट सकारातमक सन्देश प्रदान भएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश स्तरमा आयोजना गर्न सल्लाहा दिए । साथैं त्यस्तो आयोजनाका लागि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने बताए । मुख्य प्रायोजक द नेक्स्टका प्रबन्ध निर्देशक अधिकारीले स्वस्थ जीवनका लागि खेलकुद प्रभावकारी मानिने बताए । उनले कर्पोरेट कपले रुपन्देहीमा नयाँ संकस्कृतिको विकास गरेको जनाए । भव्य कार्यक्रममा टाइटल स्पोन्सर हुन पाउँदा आफ्नो संस्थाले गौरव महसुस गरेको उनले बताए ।