June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९ मंगलवार

पर्यटकको बसाइँ लम्ब्याउन प्रचार–प्रसारमा जोड

Advertisement

भैरहवा– रुपन्देहीमा पछिल्लो समय पर्यटन पूर्वाधारको विकास तिव्र छ । जिल्लामा पर्यटक आगमन बृद्धिका लागि ठोस् योजनाको माग भइरहेको छ । यहाँका पर्यटन व्यवसायी र सरोकारवालबीच एकता नहुँदा एकीकृत कार्यक्रम निर्माण हुन सकेका छैनन् । यस्तो बेला बुटवल उपमहानगरले जिल्लाको पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । पर्यटन पूर्वाधार र प्याकेज कार्यक्रम सँगसँगैं अगाडि बढाउनु पर्नेमा उपमहानगरले जोड दिएको छ ।

Advertisement

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले रुपन्देहीको आर्थिक विकासका लागि पर्यटन भरपर्दो माध्याम भएको जनाउँदैं एकीकृत योजनामा जोड दिएका छन् । अहिले जिल्लामा आ आफ्नै किसिमले पर्यटन पूर्वाधारमा लगानी भइरहेको छ । आगामी दिन आवश्यकता हेरेर पूर्वाधारमा लगानी गर्नुपर्ने पाण्डेयले बताएका हुन् । सरकारको कमजोरीले पर्यटन क्षेत्रबाट चाहे अनुसारको प्रतिफल आउन नसकेको उनले बताए ।

‘लुम्बिनी, आदिमानव रामापिथेकस, सामरिक महत्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक सास्कृतिक महत्वका स्थलहरुलाई प्रचारप्रसार गर्दै पर्यटन आर्कषण गर्ने काममा नीजि क्षेत्रले अग्रसरता लिनुपर्छ,’ प्रमुख पाण्डेयले भने, ‘त्यसमा बुटवल उपमहानगरपालिका सहयोगी बन्नेछ ।’ देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधै अगाडी बढाउदै आएको बताए ।

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरेले स्वदशी उत्पादनको प्रयोगमा जोड दिदै बुटवल ट्रान्जिट सहरका रुपमा विकास भएको हुँदा यहाँको कल्चर बुझाउँदै त्यसलाई सदुपयोग गर्नु पर्नेमा जोड दिए । ‘रुपन्देहीमा पर्यटन पूर्वाधारको विकास प्रशंसनीय छ,’ उनले भने, ‘पर्यटक आकर्षित गर्न सकिने धेरै कुरा उपलब्ध छन् ।’ बुद्ध जन्मस्थल लुम्बिनी रुपन्देही मात्र नभएर मुलुककै प्रमुख पर्यटकीय ब्राण्डका रुपमा रहेको बताए ।

पर्या–पर्यटन लेखक युवराज कंडेलले पर्यटनको विकास गर्न सेवा र कथा जरुरी रहेको बताए । पर्यटन सूचना केन्द्रको आवश्यकता रहेको र ब्यवसायिक संस्थाबाट पर्यटनको विकासमा नया पुस्तालाई जोडेर अघि बढाउन जरुरी भएको उनको सुझाव थियो । लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्रीप्रसाद भट्टराईले पछिल्लो समयमा हाम्रा सांस्कृति धरोहरहरु मठमन्दिर लगायतका आस्थाका केन्द्रहरुको नक्कली बनाउने (डेष्टिनेशन डुब्लिकेशन) विषयले मौलिक पर्यटनको विकासमा दीर्घकालीन गम्भिर समस्या उत्पन्न हुने चेतावनी दिए ।

‘पाल्पाको भैरवस्थान बुटवल ल्याउने, अर्घाखाँचीको सुपादेउराली कपिलबस्तुमा तयार गर्ने काम गम्भिर छ,’ उनले भने, ‘भोली त्यसैको सिको गर्दै भारतले लुम्बिनी दिल्लीमा बनाइदियो भने हामी बिरोध गर्ने सामथ्र्य राख्न सक्छौं कि सक्दैनौं त्यो गम्भिर छ ।’

होटल ब्यवस्थापन र टुरिजम अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा कोठामा नभई होटलमा नै ब्यवहारिक ज्ञान दिनुपर्ने उनले बताए । रूपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पर्यटन नीतिमा आमुल परिर्वतन गर्दै नेपालमा घुम्ने पर्यटकको बसाइँ लम्ब्याउन सकेमात्र पर्यटनबाट राष्ट्रले लाभ लिन सक्ने र पर्यटक बसाइँ लम्ब्याउने गरि प्याकेज योजना र प्रचारमा जोड दिन सुझाव दिएको बताए । अहिले विदेशबाट आउने पर्यटकको बसाइँ औषत १६ दिन भन्दा भन्दा बढी छ । त्यसको तुलनामा लुम्बिनीमा केवल डेढ दिनमात्र बस्ने गरेको उनले बताए ।